वाणिज्य बैंकहरूको भदौका लागि नयाँ व्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा निक्षेपको औसत ब्याजदर थप घटाएका छन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग अपेक्षाकृत सुस्त हुँदा बैंकहरूले निक्षेपको लागत घटाउने रणनीतिलाई निरन्तरता दिएका हुन्।

भदौमा व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको ४.१६७५ प्रतिशतबाट ०.०३१५ प्रतिशतविन्दुले घटेर ४.१३६ प्रतिशतमा झरेको छ। संस्थागत निक्षेपतर्फ पनि औसत ब्याजदर ३.११६ प्रतिशतबाट घटेर ३.०८१ प्रतिशतमा कायम भएको छ।

भदौ महिनाका लागि पाँच वाणिज्य बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्। सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपतर्फ सबैभन्दा धेरै ०.२९ प्रतिशतविन्दुले ब्याजदर घटाएर ३.७६ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपतर्फ पनि बैंकले ०.२० प्रतिशतविन्दुले घटाउँदै ब्याजदर ३.०५ प्रतिशतमा झारेको छ।

नेपाल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.१० प्रतिशतविन्दुले घटाएर ४.१५ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपतर्फ भने ०.५० प्रतिशतविन्दुले घटाएर ३.५० प्रतिशतमा सीमित गरेको छ।

त्यस्तै, सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ३.८५ प्रतिशत कायम गरेको छ। कुमारी बैंकले ३.७६ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत ब्याजदर कायम हुने गरी दर घटाएका छन्।

भदौमा व्यक्तिगत निक्षेपतर्फ नबिल बैंक र प्रभु बैंकले भने अधिकतम ४.५५ प्रतिशत ब्याजदर कायम गरेका छन्। यी दुई बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा उच्च ब्याजदर दिएका छन्।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकसहित १५ वटा वाणिज्य बैंकले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन्।

बैंकिङ प्रणालीमा पर्याप्त रकम थुप्रिँदै गए पनि त्यसअनुसार कर्जा प्रवाह विस्तार हुन नसक्दा बैंकहरूको निक्षेप व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। कर्जाको माग कमजोर रहेको अवस्थामा निक्षेपमा उच्च ब्याजदर दिँदा बैंकहरूको लागत बढ्ने भएकाले बैंकहरूले ब्याजदर घटाएर स्रोतको लागत कम गर्ने रणनीति अपनाएका हुन्।

निक्षेपको ब्याजदरमा आएको निरन्तर गिरावटले बैंकहरूको आधार दर तथा कर्जाको ब्याजदरमा समेत थप दबाब सिर्जना गर्न सक्ने देखिन्छ। यसले आगामी दिनमा कर्जाको ब्याजदर अझै घट्ने सम्भावना बढाए पनि कर्जाको मागमा सुधार नआएसम्म बैंकिङ क्षेत्रमा तरलताको समस्या भने तत्काल समाधान हुने देखिँदैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर