जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाउने

काठमाडौं ।  बजारमा उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाउने भएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घले दसैँमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिन्डर साट्ने व्यवस्था गर्न लागेको हो । सङ्घका अनुसार घटस्थापनादेखि फूलपातीसम्म उपत्यकाका विभिन्न छ स्थानबाट यस्तो सुविधा लिन सकिने छ ।

सङ्घका अनुसार बालाजुस्थित नेपाल ग्यासको उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलङ्कीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम तथा ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले सिलिन्डर साट्न पाउने छन् । यी स्थानबाट फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुनपर्ने सङ्घले जनाएको छ । नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासङ्घको सहकार्यमा बिहान ९:३० देखि बेलुका ४ बजेसम्म ग्यास वितरण हुने छ ।

सङ्घका अध्यक्ष दिवान चन्दले चाडपर्वमा सहजताका लागि यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । अहिले ५८ वटा ग्यास उद्योगका ५८ ब्रान्डका ग्यास सिलिन्डर बजारमा छन् । धेरै कम्पनी सिलिन्डर रहेका र एउटा सिलिन्डर साट्नका लागि उपभोक्ताले तीन सय रुपियाँसम्म तिर्नुपर्ने अवस्था छ । निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले उद्योगीसँग छलफल गरेर यस्तो सुविधा उपलब्ध गराउने तयारी भएको बताउनुभयो ।

सङ्घका अनुसार सिलिन्डरको सम्भावित दुरुपयोग रोक्न र डिलर वा अन्य व्यापारीले नभई वास्तविक उपभोक्ताले मात्र सुविधा पाऊन् भन्ने सुनिश्चित गर्न सेवा लिन आउने व्यक्तिको पहिचान खुल्ने विवरण तथा मोबाइल नम्बर अभिलेखका रूपमा राखिने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर