गाँजा किनबेचमा विवाद हुँदा एकको ज्यान गयो

काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका –९, बसन्तपुरमा इँटा प्रहारबाट एक वृद्धको ज्यान गएको छ ।  प्रहरीका अनुसार लागुऔषध गाँजा किनबेच गर्दा भएको विवादका कारण गाउँकै युवकले इँटा प्रहार गर्दा बसन्तपुरका ७४ वर्षीय सुकदेव साह तेलीको मृत्यु भएको हो । इँटा प्रहारबाट गम्भीर घाइते सुकदेवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसन्तपुरस्थित मुखिया चोकमा किराना पसल सञ्चालन गर्ने सुकदेव र ७३ वर्षीया जिपसी देवीमाथि कात्तिक २७ गते राति घरमै इँटा प्रहार भएको थियो । कात्तिक २८ गते बिहान अबेरसम्म नउठेपछि छोरा गएर हेर्दा वृद्ध अवस्थाका श्रीमान–श्रीमतीलाई रगताम्मे अवस्थामा फेला पारेका थिए ।

घाइते जिपसी देवीको उपचार चलिरहेको छ । घटनाको अनुसन्धानको क्रममा वृद्ध दम्पत्तिलाई हरिपुर्वा नगरपालिका –९, बसन्तपुरकै शङ्करकुमार यादवले कुटपिट गर्दै इँटा प्रहार गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शङ्करलाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा ज्यानसम्वन्धी कसुर मुद्दामा कारवाही अघि बढाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो । पक्राउ परेका युवकले वृद्धवृद्धा सुतिरहेको अवस्थामा इँटाको टुक्राले टाउको तथा अनुहारमा अन्धाधुन्ध प्रहार गरेको बयान दिएका छन् ।

त्यसरी आक्रमण गरेपछि आफू फरार भएको युवकले बयान दिएको डिएसपी गौतमले बताउनुभयो । शङ्करलाई घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शङ्कर लागुऔषध गाँजा सेवनकर्ता रहेको र गाँजा किनबेचकै क्रममा विवाद भएको विषयलाई लिएर वृद्धमाथि कुटपिट गरेको पाइएको डिएसपी गौतमले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर