खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस सक्रिय

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ जुटेको छ ।

महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको चहलपहलका कारण बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षण गर्दै पार्टीले ३० दिनभित्र खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउने लक्ष्य लिएको छ । महाधिवेशनपछि खुलामञ्चमा पुगेको क्षतिलाई लिएर आयोजक पार्टीको आलोचना भएपछि कांग्रेसले त्यसको जिम्मेवारी लिँदै पुनःस्थापनाको काम अघि बढाएको हो ।

आइतबार कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने र मर्मतसम्भार गर्ने काममा सहभागी भए । क्षति पुगेका स्थानमा चितवनबाट ल्याइएको दुबो रोपिएको छ । पार्टीका अनुसार पछिल्लो एक महिनादेखि नियमित सिँचाइ, मलखाद र संरक्षणको कामसमेत भइरहेको छ ।

काठमाडौँ महानगर समितिका सभापति सुसन वैद्यले महाधिवेशनका क्रममा भएको क्षतिलाई पार्टीले आफ्नो दायित्वका रूपमा लिएको बताउनुभयो । दुई दिन परेको भीषण वर्षा र हजारौँ मानिसको आवतजावतका कारण अनुमान गरेभन्दा बढी क्षति पुगेको उहाँले उल्लेख गर्नुभयो ।

“महाधिवेशन स्थलका रूपमा खुलामञ्च प्रयोग गर्दा वर्षाका कारण केही बढी क्षति भएको हो । कार्यक्रमअघि नै जुन अवस्थामा लिएका थियौँ, त्यही अवस्थामा फर्काएर हस्तान्तरण गर्ने प्रतिबद्धता गरेका थियौँ । त्यसलाई पूरा गर्नु हाम्रो जिम्मेवारी हो,” उहाँले भन्नुभयो । उहाँले खुलामञ्च कुनै राजनीतिक दल वा सरकारको मात्र नभई तीन करोड नेपालीको साझा सम्पत्ति भएकाले यसको संरक्षण सबैको दायित्व भएको बताउनुभयो ।

कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले टुँडिखेलको ऐतिहासिक पहिचान र प्राकृतिक सौन्दर्य जोगाउनु पार्टीको पनि कर्तव्य भएको बताउनुभयो । प्रधानमन्त्रीले महाधिवेशनपछि सामाजिक सञ्जालमा टुँडिखेलको क्षतिबारे टिप्पणी गर्नुभएको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यसबाट प्रभावित भएर नभई आफ्नै जिम्मेवारीबोधका कारण पुनःस्थापनामा जुटेको स्पष्ट पार्नुभयो ।

“काठमाडौँको मुटुमा रहेको यो ऐतिहासिक धरोहरको अस्तित्व र सौन्दर्य जोगाउनु हाम्रो कर्तव्य हो,” उहाँले भन्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य जनक चट्टौतले महाधिवेशनका क्रममा अस्थायी संरचना निर्माण र ठूला सवारीसाधनको आवतजावतले दुबोलगायत संरचनामा क्षति पुगेको बताउनुभयो । महानगरपालिकाबाट क्षतिको विषय उठेपछि पार्टीले पुनःस्थापना गर्ने प्रतिबद्धता जनाएको र सोहीअनुसार काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर