झापामा गाईगोरु तस्कर सशस्त्र प्रहरीबिच झडप
काठमाडौं । नेपालबाट भारततर्फ चौपाया लैजान खोज्ने चौपाया तस्कर र सशस्त्र प्रहरीबिच नेपाल–भारत सिमास्थित झापा गाउँपालिकाको लसुनगञ्ज सिमा क्षेत्रमा झडप भएको छ । झडपमा एकजना घाइते भएका छन् ।
झापा गाउँपालिका –१ लसुनगञ्जस्थित सिमा नाकाबाट व्यापक मात्रामा चौपाया तस्करी हुने गरेपछि हिजो राति ११.३० बजे बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल न. ३८ रिजर्भ गण हेडक्वाटर झापाबाट सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार बस्नेतको कमाण्डमा २५ जनाको टोली खटिएको थियो ।
सो टोलीले नेपालबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको १८ वटा चौपाया (गोरु) नियन्त्रणमा लिएको थियो । ती चौपाया ल्याउने क्रममा १०–१५ जनाको संख्यामा रहेका चौपाया तस्करहरुले बाटोमा रोकी विवाद गरेका थिए ।
उनीहरुले सशस्त्र प्रहरीलाई हातपात गर्न खोज्दा झै–झगडा भइ सशस्त्र प्रहरीले बल प्रयोग गरेको थियो । सशस्त्र प्रहरीको लाठीचार्जमा एकजना घाइते भएका छन् । झापा गाउँपालिका वडा नं २ बस्ने ४१ वर्षीय बिनोदकुमार बराइली घाइते भएका छन् । उनको दाहिने खुट्टाको तिघ्रामा चोट लागेको छ । घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।
घटनाबारे हिजो दिउँसो १ बजे इलाका प्रहरी कार्यालय कुमरखोदमा जानकारी गराएपछि इप्रका कुमरखोदबाट प्रहरी नायव निरीक्षक सुबास ढुंगानाको कमाण्डमा टोली खटिएको थियो ।
ती चौपाया बीओपी टाँघनडुब्बाको कार्यालयबाट भन्सार कार्यालय बुझाइएको थियो । भन्सार कार्यालयमा २ लाख ५५ हजार रुपियाँ तिरेर व्यापारीहरुले ती चौपाया लिएर गएको बताइएको छ ।
