प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारत भ्रमणमा आज नयाँदिल्ली जाँदै
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् भने सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। उनले महात्मा गान्धीको समाधिस्थल राजघाटमा श्रद्धाञ्जलीसमेत अर्पण गर्नेछन्।
भ्रमणमा व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारलगायतका विषयमा छलफल हुनेछ। साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गरिने कार्यक्रम छ।
नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल–भारत बिजनेस फोरम आयोजना गरिनेछ। कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायीलाई सम्बोधन गर्दै नेपालमा लगानीका अवसर र सरकारी नीतिबारे जानकारी गराउनेछन्।
प्रधानमन्त्री शाहको टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत उच्च सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी हुनेछन्।
दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।
