दसौँ राष्ट्रिय खेलकुदका ३२ खेलको खेलस्थल तय, कर्णालीका विभिन्न जिल्लामा प्रतिस्पर्धा हुने

काठमाडौँ । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको विवरणअनुसार अधिकांश खेल सुर्खेतमा सञ्चालन हुनेछन् भने अन्य खेल कर्णालीका विभिन्न जिल्ला तथा बाँके र बर्दियामा आयोजना गरिनेछन्।

परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताका अनुसार सुर्खेतमा एथ्लेटिक्स, क्रिकेट, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दोलगायत २२ खेल सञ्चालन हुनेछन्।

त्यस्तै, बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा टेनिस र महिला तथा पुरुष खो–खो प्रतियोगिता हुनेछ। सल्यानमा जुडो र कुस्ती, दैलेखमा आइटिएफ तेक्वान्दो, जुम्लामा महिला तथा पुरुष फुटबलको सेमिफाइनल र फाइनल, कालीकोटमा बुद्धिचाल तथा पश्चिम रुकुममा शारीरिक सुगठन आयोजना गरिनेछ।

प्रतियोगिताका केही खेल मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन् भने औपचारिक उद्घाटन मङ्सिर १६ गते गरिनेछ। प्रतियोगितामा ६ हजार खेलाडी र तीन हजार अफिसियल गरी करिब नौ हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न मूल समारोह समितिसहित १४ वटा समिति गठन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर