जुनसुकै ब्रान्डको ग्यासको सिललिन्डर साट्न सक्ने व्यवस्था
काठमाडौं । नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता तथा सुरक्षा निकायको समन्वयमा काठमाडौं उपत्यकामा जुनसुकै ब्रान्डको एल पी ग्यासको सिललिन्डर साट्न सक्ने व्यवस्था गरिन लागेको छ । चाडपर्वका बेला उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउन काठमाडौं उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिन्डर साट्न मिल्ने व्यवस्था गर्न लागिएको हो ।
बजारमा ग्यास पर्याप्त हुँदाहुँदै सिलिन्डरको ब्रान्ड नमिलेका कारण उपभोक्ताले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता तथा सुरक्षा निकायको समन्वयमा यस्तो व्यवस्था गर्न लागिएको बताइएको छ ।
नयाँ व्यवस्थाअनुसार उपभोक्ताले आफूले प्रयोग गर्दै आएको ब्रान्डभन्दा फरक कम्पनीको खाली सिलिन्डर बुझाएर पनि पायक पर्ने स्थानबाट ग्यास लिन सक्नेछन् । यसका लागि उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।
विशेषगरी एकमात्र सिलिन्डर भएका उपभोक्तालाई लक्षित गरी यो व्यवस्था लागू गर्न लागिएको हो । यसअघि फरक कम्पनीको सिलिन्डर साट्दा कतिपय डिलरले उपभोक्ताबाट अतिरिक्त रकम लिने गरेको गुनासो आउने गरेको थियो । अब भने ब्रान्ड फरक परेको भन्दै थप रकम लिन नपाइने व्यवस्था गरिनेछ ।
ग्यास उद्योगीहरूले काठमाडौं उपत्यकाका विभिन्न १५ देखि २० प्रमुख स्थानमा संयुक्त बिक्री काउन्टर सञ्चालन गर्ने तयारी गरेका छन् । ती काउन्टरबाट जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर तत्काल ग्यास लिन सकिने व्यवस्था मिलाइनेछ ।
