विदेशी मुद्रा सञ्चिति एकचालिस खर्ब नाघ्यो

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड रुपियाँ पुगेको छ ।आव २०८३/८४ को पहिलो तीन महिना (२०८३ असोजसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार चालु आव २०८३/८४ को असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ असोज मसान्तमा ८.२ प्रतिशतले वृद्धि भई २७ अर्ब ३९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०८३ असार मसान्तमा ३४ खर्ब ७३ अर्ब १९ करोड रहेकोमा २०८३ असोज मसान्तमा ६.४ प्रतिशतले वृद्धि भई ३६ खर्ब ९५ अर्ब २४ करोड पुगेको छ ।

बैङ्क तथा वित्तीय संस्था (राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा चार खर्ब २४ अर्ब ४८ करोड रहेकोमा २०८३ असोज मसान्तमा ९.८ प्रतिशतले वृद्धि भई चार खर्ब ६५ अर्ब ९० करोड कायम भएको छ । २०८३ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ । समीक्षा अवधिमा चालु खाता दुई खर्ब ७९ अर्ब ११ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब ३८ अर्बले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६९ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ८२ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चार अर्ब १४ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम एक अर्ब ७४ करोड थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति तीन खर्ब तीन अर्ब ७९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको थियो । वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.३७ प्रतिशत रहेको छ । रेमिट्यान्स आप्रवाह नेपाली रुपियाँमा २७.२ प्रतिशतले र अमेरिकी डलरमा १६.७ प्रतिशतले बढेको छ । चालु आवको असोजको रेमिट्यान्स आप्रवाह दुई ६७ अर्ब ३४ करोड रहेको छ । निर्यात ५७ प्रतिशतले र आयात ३८.२ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालन सुस्त

बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन २.८ प्रतिशतले मात्र बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको छ । बैङ्क तथा वित्तीय संस्थाबिचको भारित औसत अन्तरबैङ्क दर २.७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर १.०१ प्रतिशत रहेको छ । वाणिज्य बैङ्कको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३१ प्रतिशत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर