सरकारको १०० दिनमा ‘लाइफ’ भन्दा ‘लाइक’ लाई बढी महत्त्व : सभापति गगन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले १०० दिनमा ‘लाइफ’ भन्दा ‘लाइक’ लाई बढी महत्त्व दिएको र भर्चुअल तालीमा रमाइरहेको आरोप लगाएका छन्।

नेपाली कांग्रेसले आयोजना गरेको ‘सरकारका १०० दिन र १०० बुँदे कार्यक्रम’ मा थापाले  भने, ‘वर्तमान सरकारले १०० दिनमा लाइफ भन्दा लाइक महत्त्वपूर्ण छ। सरकारले सोच्दै गर्दा निर्णय गर्दैगर्दा मान्छेको कुनै पनि लाइफलाई के फरक पर्छ भनेर नसोच्ने भयो। त्यसले लाइक कति वटा थप्छ भनेर सोच्ने भयो। यो हाम्रो लागि चिन्ताको विषय बन्यो।’

उनले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पर्ने काममा भन्दा आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित रहेको दावी गरे । थापाले केही व्यक्तिलाई पक्राउ गर्ने कुरामा सरकार रमाइरहेको बताए । सरकारले परिणाम दिनु महत्त्वपूर्ण भए पनि त्यसका लागि कानुनी प्रक्रिया र विधि मिच्न नहुने थापाले बताए। सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगप्रति कांग्रेसले सहयोग गरेको बताउँदै उनले कानुनअनुसार काम गर्न सरकारलाई आग्रह गरे।

‘हामी सम्पत्ति छानबिन आयोगलाई विवरण बुझाउने प्रक्रियामा सहभागी हुन्छौँ। तर सरकारलाई हाम्रो आग्रह के हो भने कानुनले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्छ। कार्यकारी आदेशका भरमा यस्ता निर्णय गर्नु हुँदैन’, उनले भने। थापाले वर्तमान सरकारले ‘विधि र प्रक्रिया होइन, परिणाम मात्रै महत्त्वपूर्ण हो’ भन्ने सोचले अगाडि बढेको आरोप लगाए।

उनले अहिले निजी क्षेत्रलाई त्रासमा पारिएको र कसैले पनि नयाँ लगानी गर्ने अवस्था नरहेको समेत बताए । उनले शाह नेतृत्वको सरकारले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तै काम गर्न थालेको बताए ।

उनले भने, ‘सरकार परिणाम दिन्छु भनेर विधि र प्रक्रिया विपरीत गइरहेको छ । विगतमा पनि हामीले यस्तो अभ्यास देखेकै हौं । नेकपाको सरकारभन्दा अहिलेको सरकारमा कुनै भिन्नता देखिएन ।’

सुकुमबासी हटाउने विषयलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै सभापति थापाले कानुन बनाएर भूमिहीनको समस्या समाधान गर्न सकिने भए पनि सामाजिक सञ्जालमा वाहवाही पाउन पहिला घर भत्काइदिएको आरोप लगाए ।

उनले भने, ‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ, त्यसैमा लागेको छ। भूमिहीनहरूको समस्या कानुन बनाएर समाधान गरेको भए सामाजिक सञ्जालमा लाइक चाहिँ आउँदैनथ्यो, त्यसैले सुकुमबासी बस्तीमा डोजर चलाइयो। सञ्जालमा चर्चा भयो ।’ थापाले बालुवाटारबाट भन्दा सिंहदरबारबाट शासन गरेको भन्दै उनले प्रधानमन्त्री शाहको प्रशंसा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर