देउवाको अब बाँकी जीवन जनताको सेवामा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूले जीवनमा पाउनुपर्ने सबै कुरा पाइसकेको भन्दै अब बाँकी जीवन देश र जनताको सेवामा समर्पित गर्ने बताएका छन्।

इतर पक्षको बागलुङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आफू सामान्य परिवारबाट राजनीतिमा आएको र जनताकै समर्थनमा पाँच पटक प्रधानमन्त्री बनेको उल्लेख गरे। अब आफूले कुनै पद वा उपलब्धि प्राप्त गर्न बाँकी नरहेको उनको भनाइ थियो।

‘म डडेल्धुराको साधारण परिवारमा जन्मेको व्यक्ति हुँ। पाँच पटक प्रधानमन्त्री पाइसकेँ, मलाई जनताले दिइसक्नुभयो। मैले केही पाउनु पनि छैन। आफ्नो जीवन रहेसम्म देश र जनतालाई दिने हो,’ उनले भने, ‘नेपाली जनता, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रका लागि जीवनको अन्तिम समयसम्म समर्पित हुन चाहन्छु।’

देउवाले आगामी निर्वाचनमा बागलुङबाट नेपाली कांग्रेसलाई अत्यधिक बहुमतका साथ विजयी गराउन पनि आग्रह गरे। पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूले नै न्याय पाउने विश्वाससमेत उनले व्यक्त गरे।

आफू विगतमा पञ्चायतकाल र पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा समेत जेल परेको स्मरण गर्दै देउवाले त्यतिबेला पनि सर्वोच्च अदालतले न्याय दिएको बताए। शाही आयोग गठन गरेर आफूलाई थुनिएको प्रसंग उल्लेख गर्दै उनले अदालतले साहस देखाएर आफूलाई रिहा गरेको दाबी गरे। ‘मलाई विश्वास छ, सर्वोच्च अदालतबाट पूरापूर न्याय पाइनेछ,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर