कांग्रेसको उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सकिएको छ। अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित भएका छन्। समावेशीतर्फको उपसभापतिमा बिनोदकुमार चौधरी विजयी भएका छन्।

महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणाले बाजी मारेका छन् भने महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्। उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरेका छन्।

यस पदका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।

उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरी १ हजार ७४५ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरेका छन्।

यसैगरी फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाएका छन्। महामन्त्री खुलातर्फ प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। उदयशमशेर राणा २ हजार ३३० मतसहित दोस्रो स्थानमा रहँदै निर्वाचित भएका छन्।

अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४ र अमरसिंह पुन मगरले १ हजार १२५ मत प्राप्त गरेका छन्। शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाएका छन्।

महिला महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत पाएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर