सरकारी अस्पतालमा स्वास्थ्य सेवामा सुधार : मुख्यमन्त्री थापा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा विशेषज्ञ सेवा, जनशक्ति र आवश्यक उपकरणको व्यवस्थापन हुँदै गएपछि स्वास्थ्य सेवा प्रवाहमा सुधार आएको बताउनुभएको छ ।
उहाँले सरकारी अस्पतालमा सेवा पाइँदैन, चिकित्सक हुँदैनन् र उपकरण छैन भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैगएको बताउनुभयो । बुधबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा आयोजित स्वागत तथा शुभकामना आदान–प्रदान कार्यक्रममा मुख्यमन्त्री थापाले सङ्घीयता कार्यान्वयनपछि प्रदेश मातहत आएका १३ वटै जिल्ला अस्पतालको सेवा सुधार हुँदैगएको बताउनुभयो ।
उहाँका अनुसार प्रदेशका अस्पतालमा हरेक वर्ष विशेषज्ञ सेवा थपिँदै गएको तथा आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन गरिँदैआएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा दैनिक एक हजार छ सयभन्दा बढी बिरामीले सेवा लिइरहेको उहाँले जानकारी दिनुभयो ।
मकवानपुरसँगै छिमेकी मधेश प्रदेशका जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने गरेको बताउँदै उहाँले बिरामीको चाप बढ्दा शैया व्यवस्थापनमा समस्या हुने गरेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेशको गौरवको आयोजनाका रूपमा अघि बढाइएको बताउनुभयो । प्रतिष्ठान र हेटौँडा अस्पतालबिच देखिएका समस्या समाधानका लागि आफू स्वास्थ्यमन्त्री हुँदा कानुन संशोधनको प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
उहाँले हेटौँडा अस्पतालमा पर्याप्त भौतिक स्थान नभएको उल्लेख गर्दै प्रतिष्ठानको कार्यालय अस्पतालको नयाँ भवनमा रहेकाले अस्पतालको सेवा विस्तारमा थप समस्या भएको बताउनुभयो । बिरामीको चाप र अस्पतालको आवश्यकतालाई ध्यानमा राखी प्रतिष्ठानको कार्यालय अन्यत्र स्थानान्तरण गर्न उहाँले सुझाव दिनुभयो ।
अस्पतालका लागि निर्माण गरिएको भवन स्वास्थ्य सेवा प्रवाहमै प्रयोग गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री थापाले अन्य कार्यालयलाई सरकारी भवनमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । अस्पतालको भौतिक संरचना विस्तारका लागि एकै पटक पर्याप्त बजेट विनियोजन गर्न नसकिएको उहाँले उल्लेख गर्नुभयो ।
स्वास्थ्य तथा सामाजिक विकासमन्त्री एवं प्रतिष्ठानका सहकुलपति गीरबहादुर तामाङले मन्त्रीको जिम्मेवारी सम्हालेदेखि नागरिकको सेवामा केन्द्रित भएर काम गरिरहेको बताउनुभयो । प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले हेटौँडा अस्पतालको स्तरवृद्धिसँगै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बन्दै गएको बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति प्राडा. प्रदीप ज्ञवालीले प्रतिष्ठानमा कर्मचारी व्यवस्थापन मुख्य चुनौतीका रूपमा रहेको बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानमा चारसय १२ भन्दा बढी कर्मचारी अस्थायी रूपमा कार्यरत छन् । उहाँले स्थायी कर्मचारी व्यवस्थापनको प्रक्रिया अघि बढाउन मुख्यमन्त्री तथा मन्त्रीसँग आग्रह गर्नुभयो ।
उपकुलपति ज्ञवालीले हेटौँडा अस्पतालका कर्मचारीलाई सेवाग्राहीमैत्री व्यवहार गर्न तथा अनिवार्य रूपमा तोकिएको पोसाक र परिचयपत्र प्रयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानले गरेका गतिविधिबारे डिन प्रा.डा. इन्दिरा अधिकारी पौडेलले जानकारी गराउनुभएको थियो ।
