वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ । आजको बन्दसत्रमा विभिन्न चार प्रस्ताव तथा प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यक्रम रहेकामा अचानक आएको हावाहुरीसहितको वर्षाका कारण बन्दसत्र प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताउनुभयो ।

सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।

बिहान १०:३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र खाजा समयपछि ११:३० बजे सुरु गर्ने तयारी गरिएको थियो । तर, यसबीच अचानक हावाहुरीसहित ठूलो वर्षा भएपछि बन्दसत्र प्रभावित भएको हो ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १८ गते काठमाडौँको खुलामञ्चमा विशेष कार्यक्रमसहित उद्घाटन भएको थियो । त्यसयता सोही स्थानमा बन्दसत्र जारी छ ।

आजको बन्दसत्रमा आमसञ्चारकर्मीलाई समेत प्रवेश दिइएको छ । प्रवक्ता चालिसेका अनुसार खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्दसत्रमा प्रवेश खुला गरिएको छ । यसअघि सम्पन्न विशेष महाधिवेशनमा पनि बन्दसत्र सबैका लागि खुला गरिएको उहाँले बताउनुभयो ।

बन्दसत्रको प्रत्यक्ष प्रसारण कांग्रेसको फेसबुक पेजबाट गरिने भएको छ । अन्य सञ्चारमाध्यमलाई समेत बन्दसत्रको प्रत्यक्ष प्रसारण गर्न अनुमति दिइएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।

बन्दसत्रको आजको कार्यक्रमपछि पार्टी सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभापतिको सम्बोधनसँगै बन्दसत्रको छलफल औपचारिक रूपमा टुङ्ग्याउने तयारी कांग्रेसले गरेको छ ।

महाधिवेशनअन्तर्गतका विभिन्न सत्रमा पार्टीको आगामी कार्यदिशा र सङ्गठनात्मक संरचनाका विषयमा छलफल भइरहेको छ । राजनीतिक, सङ्गठनात्मक र आर्थिक प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्ने प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर