कांग्रेसको नीति र संरचना दुवैमा सुधार हुन्छ : प्रवक्ता चालिसे
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसको १५ औँ महाधिवेशन ऐतिहासिक राजनीतिक महत्त्व बोकेको स्थलमा हुन लागेको बताएका छन् ।
महाधिवेशनस्थल खुल्ला मञ्चमा शनिवार पत्रकार सम्मेलन गर्दै उनले नेपालको राजनीतिक इतिहासमा खुल्ला मञ्चको विशेष महत्त्व रहेको बताए । २०३३ सालमा जननायक वीपी कोईराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३६ सालको जनमतसंग्रहको लागि पहिलो ऐतिहासिक सार्वजनिक सम्बोधन खुल्ला मञ्चबाट गर्नुभएको उनले बताए ।
२०४६ सालको राजनीतिक परिवर्तनका लागि नेपाली काँग्रेसका नेता गणेशमान सिंहले पनि खुला मञ्चबाट नै परिवर्तनको उद्घोष गरेको उनले बताए । नेपाली काँग्रेसको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनसँग जोडिएको महत्त्वपूर्ण स्थानमा पार्टीले १५ औँ महाधिवेशन गर्न लागेको उनको भनाई छ ।
उनले भने, ‘नेपालको राजनीतिमा ऐतिहासिक र प्रतिकात्मक महत्त्व छ । यही भूमि हो जसले २०३३ सालमा जननायक बीपी कोइरालाले नेपालमा उहाँको राष्ट्रिय एकता र मेलमिलाप नीति लिएर स्वदेश फर्किसकेपछि सार्वजनिक रूपमा, ऐतिहासिक रूपमा पहिलो सम्बोधन २०३६ सालको जनमत संग्रहको सन्दर्भमा उहाँको पहिलो ऐतिहासिक सम्बोधन यहाँ यही स्थलमा, यही बगलमा भएको। म वीपी कोईरालाको आह्वान मात्रै थिएन, गणेशमानजीले २०४६ सालको परिवर्तनको उद्घोष यही भूमिबाट गर्नुभएको हो। नेपाली जनताको अधिकार स्थापित गर्ने आह्वान गरिएको ऐतिहासिक भूमिमा नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको सन्दर्भमा आज हामीले यही भूमिबाट भोलि महाधिवेशन हुँदैछ । अबको शासन भनेको शासन होइन, सुधार, सुशासन हो । अब पद होइन परिणाम खोजिरहेछ, जनताले । त्यसकारण अबको राजनीति पदको लागि होइन, परिणामको लागि हुनुपर्छ । शासन, राजनीति शासनको लागि होइन, सुशासनको लागि हुनुपर्दछ भन्ने कुरा हामीले यहाँ विद्यमान हामीले आफ्नो नीतिमा समावेश गरेका छौँ । नेपाली कांग्रेस स्पष्ट गर्न चाहन्छ, यो अधिवेशनको माध्यमद्वारा नयाँ इतिहास निर्माण गर्न चाहन्छ । नेपाली कांग्रेस बीपी कोईरालाको जुन विचारधारा छ, इतिहासमा मात्र होइन कि बीपी अब भविष्यमा पनि बीपी विचारधारालाई हामी जोड्दै जानेछौँ । र भविष्यको नेपाल, बीपीले परिकल्पना गरेको नेपाल, सान्दर्भिक नेपाल, आधुनिक नेपाल, प्रविधियुक्त नेपालको रुपमा हामीले भविष्यमा जोड्ने वैचारिक आधार यो अधिवेशनले प्रदान गर्नेछ ।’
उनकाअनुसार आईतवारदेखि शुरु हुने महाधिवेशनको उद्घाटन समारोहपछि हुने बन्द सत्रमा पार्टीको आगामी राजनीतिक, आर्थिक, सामाजिक र सांगठनिक दिशाबारे विस्तृत छलफल हुनेछ ।
बन्दसत्रमा पार्टी सभापति गगन थापाले आगामी पाँच वर्षमा काँग्रेसले लिने राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी र परराष्ट्र नीतिसहितका विषय समेटिएको कार्यपत्र बन्द सत्रमा प्रश्तुत गरे । उपसभापति विश्वप्रकाश शर्माले पनि समसामयिक विषयमा प्रतिवेदन प्रश्तुत गर्ने उनले बताए ।
महाधिवेशनमा पार्टीको विधान संशोधनमार्फत संरचनागत सुधारका विषयमा समेत छलफल हुने उनले बताए । उनले विधानमा केही परिवर्तन यसअघि नै भइसकेको बताए । उनले महाधिवेशनले नेतृत्वलाई भन्दा नीति चयनलाई विशेष प्राथमिकता दिएको पनि बताए ।
महाधिवेशनमा सहभागी प्रतिनिधिले ३ हजार ५ सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गर्नुपर्नेछ । देशभरबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेको उनले बताए । केही जिल्लामा निर्वाचन तथा मतगणना भइरहेकोले आइतबार बिहानसम्म सबै प्रतिनिधि काठमाडौँ आईपुग्ने उनको भनाई छ ।
