भोलिदेखि संसद्को अधिवेशन सकिँदै

काठमाडौं ।  सङ्घीय संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ । मन्त्रीपरिषद्को मङ्गलबारको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । अधिवेशनको आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिस भएको बताउनुभयो । असोज १६ गतेदेखि अन्त्य हुने गरी सिफारिस भएको उहाँले जानकारी दिनुभयो ।

सङ्घीय संसद्को चालु अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । चालु अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो । यस्तै अध्यादेश प्रतिस्थापनका छ वटा विधेयक पारित र प्रमाणीकरण भएका छन् । यस्तै वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने विधेयक पनि पारित र प्रमाणीकरण भएका छन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पनि प्रमणीकरण भएको छ । प्रतिनिधि सभामा दसभन्दा बढी विधेयक समितिहरूमा विभिन्न चरणमा विचाराधीन छन् ।

अधिवेशनमा प्रतिनिधि सभाले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपत्सम्बन्धी अध्ययनका लागि विशेष समिति गठन गरेको छ । अधिवेशनमा प्रधानमन्त्री वालेन्द्र शाहले एक पटक आकस्मिक प्रश्नोत्तरमा भाग लिनुभयो । यस्तै परराष्ट्र र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसँग प्रश्नोत्तर भएका छन् । यस्तै पूर्वाधार विकासमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग पनि प्रश्नोत्तर भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर