कांग्रेसमा देउवालाई गगनले होच्याएको हो कि ? सम्मान गरेको भन्ने प्रश्न खोजिँदै

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षका नेताहरु शेरबहादुर देउवाको साथ छोडेर संस्थापन पक्षमा सामेल हुने क्रम बढेको छ । अहिले आन्तरिक शक्ति संघर्षमा सभापति गगन थापा पक्ष बलियो भएर गएको देखिँदैछ ।

१५ औं महाधिवेशनको वडा अधिवेशन सुरु हुनुअघि देउवा र नेता शेखर कोइराला पक्षका २१ जनाभन्दा बढी नेताको साथ सभापतिले थापाले पाएका छन् । भोलिदेखि सुरु हुने महाधिवेशनको प्रक्रियामा देउवा क्याम्प एकता गर्न आएन भने कांग्रेस औपचारिक रूपमा विभाजन निश्चित छ । देउवा र नेता कोइराला पक्षका २१ नेतालाई केन्द्रीय समितिमा थप गरेका सभापति गगन थापा बिहीबार सानेपामा निकै हौसिएका देखिन्थे । उनले पूर्वसभापति देउवालाई १५ औं महाधिवेशनको उद्घाटन गर्न सार्वजनिक आह्वान गरे ।

‘मेरो आदरणीय नेता पूर्वपार्टी सभापति शेरबहादुर देउवालाई म आग्रह गर्न चाहन्छु’, थापाको भनाइ छ, ‘कतिपय साथीहरूले भन्नुभएको छ, पर्सि हाम्रो अधिवेशन छ । अधिवेशनको दिनमा पूर्वपार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा लागि ठूलो सम्मानको विषय हुन्छ ।’

तर पूर्ण एकताका लागि १५ औं महाधिवेशन स्थगित गरेर संवाद अघि बढाउन नेताहरुले दवाब भने दिइरहेका छन् । कांग्रेस नेता कोइरालाले विज्ञप्ति जारी गर्दै गगन थापा र शेरबहादुर देउवा दुवै पक्षले गर्न खोजेको महाधिवेशन रोकेर एकतामै जानुपर्ने आग्रह मात्र गरेका छैनन्, कांग्रेसभित्रको विवादलाई पटकथा भन्दै त्यो अरू कसैले नै लेखिरेहको गम्भीर आरोपसमेत लगाए । कोइरालाको अपिलमा ३ असोजदेखि हुने महाधिवेशनको बहिष्कार गर्ने त भनिएको छैन तर रोक्न भने प्रस्ट शव्दले आग्रह गरिएको छ साथै आफू सहभागी नहुने संकेत पनि दिएका छन् ।

कोइरालाले भनेका छन्, ‘दुःखका साथ भन्नु पर्छ, यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन् मलाई थाहा छैन, मलाई यसबाट पीडा छ मेरो पीडासँग कार्यकर्ता साथीहरूको भावना जोडिएकोछ।’

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि दुवै महाधिवेशन नरोकिए कांग्रेस विभाजन कसैले रोक्न नसक्ने भन्दै आफ्नै अग्रसरतामा वार्ता र संवाद अघि बढाउन सभापति थापालाई आग्रह गरेका छन् । संस्थापनले असोज ३ गतेदेखि महाधिवेशनको प्रक्रिया सुरु गर्दैछ भने देउवा पक्षले १५ गते देखि सुरु गर्ने घोषणा गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर