रवि लामिछानेको सर्वदलीय बैठकले के निर्णय गर्‍यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले बाढी तथा विपद् व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकपछि नेकपाका नेता माधवकुमार नेपालले मुख्यतः दुई विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने र संसद्‌भित्र विशेष समिति गठनका लागि सभामुखलाई आग्रह गर्ने निर्णय भएको छ ।

विशेष समिति एक साताभित्र गठन गरी अहिलेको विपद्का विषयमा छलफल तथा आवश्यक काम अघि बढाउन आग्रह गर्ने निर्णय भएको उनले बताए । बैठकमा आठ दलका नेताहरू सहभागी भएको पनि नेपालको भनाइ छ । रास्वपा प्रवक्ता जगदीश खरेलले पनि बाढीपछि रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई कायमै राख्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार जनमोर्चालाई समेत संयन्त्रमा समावेश गर्ने निर्णय भएको छ ।

यसअघि भदौ १० गते बसेको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । त्यसपछि भदौ १६ गतेको बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीसम्बन्धी १० बुँदे साझा संकल्प पारित गरेको थियो।

बैठकमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले सचिव पद्मा अर्याल, नेकपाका माधवकुमार नेपाललगायत विभिन्न दलका नेताहरू सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर