विगत ३५ वर्षको उपलब्धि मूल्यांकन गर्न देउवाको चुनौती

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विगत तीन दशकमा मुलुकले हासिल गरेको प्रगतिलाई तुलनात्मक अध्ययनमार्फत मूल्याङ्कन गर्न आग्रह गरेका छन्।

देउवाले विज्ञप्तिमार्फत तीन दशकअघिको नेपाल र आजको नेपालको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संसाधन विकास, गरिबी न्यूनीकरण तथा नागरिक पहुँचका क्षेत्रमा भएका परिवर्तनलाई तुलनात्मक रूपमा हेर्नुपर्ने बताएका हुन्। उनले सीमित स्रोत र साधनका बीच पनि नेपालले उल्लेख्य प्रगति हासिल गरेको उल्लेख गर्दै विकास, परिवर्तन र उपलब्धिको मूल्याङ्कन गर्ने प्रभावकारी आधार तुलनात्मक अध्ययन भएको बताएका छन्।

विगत ३५ वर्षको राजनीतिक संक्रमण र त्यसक्रममा राजनीतिक दलहरूले गरेका कामको वस्तुगत समीक्षा गर्दै मुलुकको अवस्थालाई हेर्नुपर्ने देउवाको भनाइ छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत राजनीतिक दलहरूले केही गरेनन् भन्ने प्रश्नको उत्तर पनि यही वस्तुगत समीक्षाबाट प्राप्त हुने उनले बताएका छन्।

तर प्राप्त उपलब्धिमै सन्तुष्ट भएर बस्ने अवस्था नरहेको देउवाले स्पष्ट पारेका छन्। जनताको अपेक्षा पूरा गर्न, सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न, आर्थिक समृद्धि हासिल गर्न तथा मुलुकलाई विकसित राष्ट्रका रूपमा अघि बढाउन नयाँ सोच, ऊर्जा र प्रतिबद्धतासहित अगाडि बढ्नुपर्ने उनको भनाइ छ। उपलब्धिको समीक्षा गर्दा इतिहास र यथार्थलाई बिर्सन नहुने देउवाले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर