ग्यास उद्योगीमाथि खनिँदा मन्त्री यादवको जिम्मेवारी चट्
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादवले आज प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष व्यक्तिगत कारण देखाउँदै राजीनामा बुझाइन् ।
राजीनामा दिएको जानकारी गराउँदै मन्त्री यादवको सचिवालयले सञ्चारकर्मी तथा सञ्चारमाध्यमप्रति आभार व्यक्त गरेकी छन् । मन्त्री यादवका प्रेस संयोजक कमल सरगम चौलागाईंले विज्ञप्ति जारी गर्दै मन्त्रीका गतिविधि, मन्त्रालयका निर्णय तथा सार्वजनिक सरोकारका विषय आम नागरिकसमक्ष पुर्याउन सञ्चारकर्मीले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद व्यक्त गरेका छन् ।
ग्यास उद्योगीमाथि खनिँदा मन्त्रीको जिम्मेवारी चट्
सिंहदरबारस्थित संसदीय समितिको बैठकमा हिजो बुधबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको स्वर निकै आक्रामक थियो। बजारमा खाना पकाउने ग्यासको हाहाकार भएपछि सांसदहरूको घेराबन्दीमा परेकी उनले सिधै निजी क्षेत्रका ५८ वटै ग्यास उद्योगीमाथि खनिँदै कडा चेतावनी दिएकी थिइन्।
मन्त्री यादवको आक्रोशपूर्ण अभिव्यक्ति थियो, “अब जे निर्देशन हुन्छ, त्यही हिसाबले हामी जान्छौँ। तर ती उद्योगीहरूलाई पाता नफर्काएसम्म चाहिँ यो ग्यास सहज हुँदैन भन्ने मेरो अन्तिम विश्लेषण यही हो।”
उनले त्यतिमा मात्र नरोकिई देशका सबै ५८ वटा ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने र व्यापारीहरूले सिलिन्डर बाटैबाट गायब पारेको संगीन आरोपसमेत लगाइन्। तर, उनको त्यो अभिव्यक्तिको २४ घण्टा पनि टिकेन। हिजो संसद्मा उभिएर ‘उद्योगीको पाता फर्काउने’ दम्भ देखाएकी मन्त्री यादव बिहीबार दिउँसो भने स्वयं मन्त्रीको कुर्सी गुमाएर क्याबिनेटबाट बाहिरिएकी छन्।
