बाढीपछिको उद्धारमा सरकार अदृश्य बनेको ओलीको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी–त्रिशूलीमा आएको बाढीपछिको उद्धारमा सरकार अदृश्य बनेको आरोप लगाएका छन् ।
महासचिव शंकर पोखरेलसहितको टोलीले नुवाकोट, रसुवालगायतका स्थानको स्थलगत अवलोकनपछि गरेको अध्ययन प्रतिवेदन ग्रहण गर्ने कार्यक्रममा ओलीले सरकारले एक्लै श्रेय लिन खोज्दा चुकिरहेको बताएका हुन् ।
‘यतिबेला कसैको आलोचना गर्ने टीकाटिप्पणी गर्ने समय होइन, तर सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बस्यो, एक ढंगले भन्ने हो भने सरकार अगम्य, अप्राप्य त्यस्तो स्थितिमा बस्यो, अदृश्य जस्तो भएर बस्यो,’ ओलीले भने।
प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न केन्द्र सरकार हिच्किचाएको ओलीले आरोप लगाए । ‘प्रदेश सरकार र स्थानीयसँग मिलेर काम गर्नुपर्थ्यो, त्यसका लागि होइन श्रेयका लागि लागिपरेको देखियो,’ उनले भने ।
सरकारले पर्वतारोहणको उद्धार गर्ने समूहको दक्षताको मद्दत पनि नलिएको उनले बताए । ‘राज्य र जनता मिलेर साझा समस्या समाधान गर्नुपर्नेमा सरकार एक्लै श्रेय लिन खोज्यो । एक्लै श्रेय लिन खोज्ने कुरा डुब्ने कुरा हो, पाउने सम्भावना छैन । एकल प्रयासबाट रहरले सफलता पाउने विषय होइन,’ ओलीले भने, ‘अझै पनि सरकारले आफ्नो दृष्टिकोण र भूमिका स्पष्ट पारोस्, राष्ट्रिय विपद्को रूपमा बुझोस् । साझा समस्या हो, साझा विपद् हो भन्ने कुरा सरकारले बुझोस् ।’
