किरण थापालाई बागमती सरकार हाँक्न बाटो सरर….
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मत लिएका हुन् ।
थापाले मंगलबार संसद्बाट सरकार टिकाउन आवश्यक ५३ मत भन्दा बढी मत प्राप्त गरेका हुन् । उनले प्रदेशसभाको कुल उपस्थित ५७ सांसद मध्ये सबै मत पाएका हुन् । उपसभामुख अप्सरा चापागाईंले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरिन् । उनका अनुसार विश्वासको मतको पक्षमा ५७ र विपक्षमा शून्य मत परेको छ ।
थापालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २६ र नेकपा एमालेका २५ (उपसभामुखसहित) र राप्रपाका ७ जना सांसदले विश्वासको मत दिएका हुन् । राप्रपाका उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज बज्राचार्य र मोनिका श्रेष्ठले विश्वासको मत दिएका छन् ।
विपक्षी दल कांग्रेसका ३६, नेमकिपाका ३ र हानेपाका २ सांसद बैठक बहिस्कार गर्दै सहभागी भएका थिएनन् । सरकार साझेदार दल राप्रपाका ५ सांसद पनि बैठकमा सहभागी भएका थिएनन् ।
