भक्तपुरमा छैटौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता हुँदै

भक्तपुर । स्वास्थ्यका लागि खेलकुद, ‘खेलकुद राष्ट्रका लागि’ भन्ने मूल नाराका साथ भक्तपुरमा छैटौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिटनेस–२०८३ शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताबारे आयोजकले रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
भक्तपुर जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघको आयोजनामा हुने प्रतियोगितामा भक्तपुर जिल्लाभित्रका विभिन्न क्लबबाट खेलाडी सहभागी हुने अध्यक्ष ज्ञानेन्द् मानन्धरले बताए। प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७० केजीभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिला एथलेटिक्स फिजिक्सतर्फ खुला समूहमा प्रतिस्पर्धा गराइने मानन्धरले बताए।
कार्यक्रम संयोजक बाबुकाजि मानन्धरका अनुसार पुरुषतर्फ प्रत्येक तौल समूहका विजेताबीच ओभरअल प्रतिस्पर्धा गराइनेछ। ओभरअल विजेताले छैटौँ मिस्टर भक्तपुर–२०८३ को उपाधिसहित नगद १ लाख रुपैयाँ, ट्रफी तथा बायोनेट प्राप्त गर्नेछन्। दोस्रोदेखि पाँचौँ स्थान हासिल गर्ने खेलाडीले क्रमशः ५० हजार, ४० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
मानन्धरका अनुसार महिला एथलेटिक्स फिजिक्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने छ।
प्रतियोगिताको अनुमानित बजेट करिब १५ लाख रुपैयाँ रहेको छ। विभिन्न संघ–संस्था तथा व्यक्तिको सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको मानन्धरका भनाइ छ। प्रतियोगिताले भक्तपुरका खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै युवामा खेलकुदप्रतिको रुचि र उत्साह बढाउने मानन्धरले विश्वास व्यक्त गरेको छ।
भक्तपुरमा आयोजना गरिने उक्त प्रतियोगितामा जिल्लाभित्रका करिब ६० जना खेलाडीको सहभागिता रहने मानन्धरले बताए। प्रतियोगिताको पहिलो दिन असोज २ गते शुक्रबार क्लब डिस्पाराडोमा खेलाडीहरूको वेट राउण्ड तथा ड्रइङ लटको कार्यक्रम हुने मानन्धरले बताए। असोज ३ गते प्रिजजिङ तथा फाइनल खेल हुने र तत्पश्चात् पाँच जना खेलाडी चयन गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले २०८३ भदौ २६ गते शुक्रबारसम्म फारम बुझाउन सक्नेछन्। फारम अल्टिमेट फिजिकल फिटनेस, हुलाक रोड थिमि, क्लब डिस्पाराडो र भक्तपुर ब्यासीबाट उपलब्ध हुने आयोजकले जनाएको छ।
प्रतियोगिताले भक्तपुरका शारीरिक सुगठन तथा फिटनेस खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै जिल्लामा खेलकुदप्रतिको आकर्षण र उत्साह थप बढाउने आयोजकको विश्वास छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर