आज एनपीएलको पहिलो क्वालिफायर खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायर खेल आज हुँदैछ । फाइनल प्रवेशका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । लिग चरणमा शीर्ष दुईमा रहेका दुई टिमबीच पहिलो क्वालिफायर हुन लागेको हो ।
भोलि बुधबार इलिमिनेटर खेल हुनेछ । इलिमिनेटरमा काठमाडौँ गोर्खाज र चितवन राइनोज खेल्नेछन् । लिग चरणको अंक तालिकामा ८ अंकबाट तेस्रो हुँदै काठमाडौँ तथा चौथो हुँदै चितवनले इलिमिनेटर खेल्न पाएका हुन् ।
यो खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ । विजयी हुने टिमले बिहीबार फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरको पराजित हुने टिमसँग दोस्रो क्वालिफायर खेल्न पाउने छ । जित्ने टिम फाइनलमा पुग्नेछ भने पराजित हुने टिम बाहिरिने छ । आठ टिम सहभागी रहेको प्रतियोगिताको तेस्रो संस्करणको उपाधि भिडन्त शनिबार हुनेछ । विराटनगर किंग्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स बाहिरिएका छन् ।
