चितवनलाई २४ रनले हराउँदै कर्णाली याक्स विजयी

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो।

कर्णालीको जितमा अलराउन्डर हुसेन तलात नायक बने। ब्याटिङमा अविजित अर्धशतक बनाएका उनले बलिङतर्फ पनि ३ विकेट लिए। १५४ रनको लक्ष्य पछ्याएको चितवनका लागि उसामा मिरले अविजित २८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

कामिल मिशाराले २५, कुशल मल्लले १८, देव खनालले १४ तथा अशोक धामीले ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। कप्तान सिकन्दर राजा मात्र २ रनमा आउट भए। चितवनलाई सस्तैमा समेट्न कर्णालीका हुसेन तलातले ३.१ ओभरमा मात्र १७ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, पवन सर्राफ र मार्क वाटले २-२ तथा सोमपाल कामीले १ विकेट हात पारे। चितवनका दुई ब्याटर रनआउट भएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो। कर्णालीका लागि सुरुवातमै आरिफुल इस्लामले १५ बलमा ४ चौका र २ छक्कासहित ३५ रनको आक्रामक पारी खेलेका थिए। तर, एक समय ६९ रन बनाउँदा ५ विकेट गुमाएर दबाबमा परेको कर्णालीको इनिङ्स हुसेन तलातले सम्हाले। उनले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५१ रनको महत्त्वपूर्ण योगदान दिए।

अन्त्यतिर गुल्शन झाले ६ बलमै १ चौका र २ छक्कासहित १८ रन जोडे भने पवन सर्राफले १५ रन बनाए। कप्तान डेभिड मिलर ५ र सोमपाल कामी ४ रनमै आउट भए। बलिङतर्फ चितवनका कमल ऐरी, सलाउद्दिन खान र उसामा मिरले २-२ तथा कप्तान सिकन्दर राजा र रिजन ढकालले १-१ विकेट लिए।

यसै खेलमार्फत चितवनका अशोक धामी र सलाउद्दिन खान तथा कर्णालीका सचिन शर्माले टी-२० क्रिकेटमा डेब्यु गरेका छन्। जितसँगै कर्णालीले सात खेलमा ६ अंक जोडे पनि प्लेअफमा पुग्न भने सकेन। चितवनले लिग चरणको आफ्नो अन्तिम खेलबाट सात अंकसहित चौथो स्थानमा कायमै राखेको छ। उ भने प्लेअफमा एक खेल अगावै पुगेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर