घण्टी सांसद हरि ढकालको यो विवादास्पद अभिव्यक्ति !
काठमाडौं- । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले राजनीतिक नेतृत्व र शासन सञ्चालन गर्ने निकाय अनुशासित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएका छन् ।
गुड गभर्नेन्स प्रोटेक्सन फोरमले हिजो आइतबार ललितपुरमा आयोजना गरेको ‘नेसनल गभर्नेन्स समिट’ कार्यक्रममा ढकालले शासन सत्ताको स्रोत नागरिक भएकाले राज्य सञ्चालनमा आम नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताए ।
ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने प्रस्तावसमेत अघि सारे । राजनीतिक परिवर्तनसँगै विभिन्न स्थान तथा निकायका नाम परिवर्तन भए पनि सिंहदरबारको नाम भने यथावत् रहनु समयसापेक्ष नभएको उनको टिप्पणी थियो ।
उनले सिंहदरबारको सट्टा ‘अनामनगर दरबार’ वा अन्य उपयुक्त नाम राख्न सकिने धारणा व्यक्त गरे। ‘हामीसँग सिंह नै छैन, तर त्यसको नाम सिंहदरबार नै छ’, भन्दै ढकालले राजनीतिक परिवर्तनसँगै अन्य धेरै ठाउँको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम परिवर्तन हुन नसकेको बताए ।
उनले पहुँचका आधारमा काम हुने प्रवृत्तिले सुशासन कायम हुन नसक्ने बताए । सुशासनको जिम्मेवारी बोकेका पदाधिकारी र निकाय नै अनुशासनमा नरहे सुशासन सम्भव नहुने उनको भनाइ थियो ।
ढकालले विधिको शासन र अनुशासनका आधारमा काम गर्न कानुन निर्माणको जिम्मेवारीमा रहेका जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताए । शासन सत्तामा रहेकालाई जिम्मेवार र जवाफदेही बनाउन नागरिक तहबाटै निरन्तर खबरदारी आवश्यक रहेको उनले उल्लेख गरे ।
