इन्फान्टिनोले माफी मागे पनि फिफाको आन्तरिक साथ
काठमाडौं । विश्वकपसँग सम्बन्धित व्यावसायिक योजना असफल भएपछि चर्किएको विवादबिच फिफाले अध्यक्ष जियानी इन्फान्टिनोप्रति आफ्नो शीर्ष नेतृत्वको पूर्ण समर्थन कायम रहेको जनाएको छ ।
साथै, विश्वकपसँग सम्बन्धित विवादास्पद व्यावसायिक प्रस्ताव प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको स्वीकार गर्दै फिफाले त्यसका लागि औपचारिक रूपमा माफी पनि मागेको छ । फिफाले जारी गरेको विज्ञप्तिअनुसार मोरक्कोको रबाटमा बसेको सङ्कट बैठकमा महासचिव म्याटियास ग्राफस्ट्रोम तथा व्यवस्थापन बोर्डका सदस्यले इन्फान्टिनोप्रति पूर्ण विश्वास दोहोर्याएका छन् ।
बैठकमा विश्वकपसँग सम्बन्धित ‘फिफा फरवार्ड इन्टरप्राइज (एफएफई)’ नामक व्यावसायिक सहायक कम्पनीमार्फत अघि बढाइएको प्रस्तावमा गल्ती भएको स्वीकार गरिएको र त्यसलाई फरक ढङ्गले अघि बढाउनुपर्ने निष्कर्ष निकालिएको जनाइएको छ । फिफाले फिफा काउन्सिल तथा सदस्य सङ्घलाई पत्र पठाएर प्रक्रियागत कमजोरीप्रति क्षमायाचना गरेको र भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ ।
संस्थाले एफएफई सम्बन्धी प्रस्ताव अब पूर्णरूपमा फिर्ता लिइएको पनि स्पष्ट पारेको छ । महासचिव ग्राफस्ट्रोमले यसअघि फिफाका कर्मचारीलाई पठाएको इमेलमा पछिल्ला घटनालाई ‘दुःखद र निन्दनीय’ भन्दै विवादास्पद योजनाबाट आफूलाई अलग राख्नुभएको थियो । यद्यपि पछिल्लो बैठकमा उहाँले अध्यक्ष इन्फान्टिनोप्रति समर्थन व्यक्त गर्नुभएको फिफाले जनाएको छ ।
इन्फान्टिनोले पनि महासचिवप्रति आफ्नो विश्वास दोहोर्याउनुभएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि फिफाभित्रको समर्थनका बाबजुद बाह्य दबाब भने बढिरहेको छ । प्रिमियर लिग, ला लिगा र सिरी एसहित युरोपेली फुटबल लिगको सङ्घले एफएफई प्रस्तावलाई ‘खतरनाक’ भन्दै फिफाको शासन प्रणाली, आन्तरिक संस्कृति र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ ।
सङ्घले सबै सरोकारवालाको औपचारिक सहभागिता सुनिश्चित हुने गरी शासन सुधार गर्न आग्रह गरेको छ । उक्त सङ्घले विश्वकपलाई ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाको पनि विरोध गर्दै सुधार नभएसम्म फिफाका नयाँ प्रतियोगिता वा विस्तार योजनालाई समर्थन नगर्ने चेतावनी दिएको छ ।
पोर्चुगलका पूर्वकप्तान तथा रियल म्याड्रिडका पूर्वखेलाडी लुइस फिगोले पनि इन्फान्टिनोलाई पदबाट हट्न आग्रह गर्दै उहाँले फिफाको संस्थागत प्रतिष्ठामा क्षति पुर्याएको टिप्पणी गर्नुभएको छ । यसैबिच, सन् २०३० को विश्वकपको फाइनल आयोजना गर्न मोरक्कोलाई समर्थनको आश्वासन दिएको भन्ने बेलायती सञ्चार माध्यमको दाबीलाई फिफाले अस्वीकार गरेको छ ।
फिफाका प्रवक्ताले अध्यक्ष इन्फान्टिनोले कुनै देशलाई यस्तो वाचा नगरेको र प्रतियोगिताको फाइनलस्थल उचित समयमा नियमित प्रक्रियाअनुसार तय गरिने बताउनुभएको छ । बुधबार नै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि इन्फान्टिनोमाथि आफ्नो विश्वास समाप्त भएको बताउँदै वरिष्ठ सल्लाहकारसँग पर्याप्त परामर्श नगरी ‘गम्भीर शासनगत त्रुटि’ गरेको आरोप लगाउनुभयो ।
सन् २०२६ को विश्वकपमा इन्फान्टिनोसँग विभिन्न कार्यक्रममा सहभागी हुनुभएका कार्नीले अहिले आफूलाई उहाँप्रति विश्वास नरहेको स्पष्ट गर्नुभयो । पछिल्ला घटनाक्रमले आगामी मार्चमा हुने फिफा अध्यक्षीय निर्वाचन अघि इन्फान्टिनोको नेतृत्वमाथि थप दबाब सिर्जना गरेको छ । युरोपेली फुटबल महासङ्घ (युइएफए) ले विवादास्पद योजना अघि बढे विश्वकप बहिष्कारसम्म गर्ने चेतावनी दिएको थियो भने उत्तर तथा मध्य अमेरिका र क्यारिबियन फुटबल महासङ्घ (कन्काकाफ) ले पनि फिफा नेतृत्वले फुटबलभन्दा अन्य प्राथमिकतालाई अघि सारेको आरोप लगाएको छ ।
फिफाभित्र पनि असन्तुष्टि देखिएको छ । विश्व फुटबल विकास प्रमुख आर्सेन वेङ्गरले एफएफई योजनाबाट आफूलाई अलग राख्नुभएको छ भने अध्यक्षका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले हालै राजीनामा दिनुभएको थियो । प्रमुख सञ्चालन अधिकृत केभिन लामोरले नेतृत्वको पारदर्शिताको अभावले कर्मचारी निराश भएको टिप्पणी गर्नुभएको छ । यस्ता विवादबिच पनि इन्फान्टिनो आगामी मार्चमा हुने निर्वाचनमा चौथो तथा अन्तिम कार्यकालका लागि पुनः उम्मेदवारी दिने तयारीमा रहनुभएको छ ।
