विश्वकप फाइनलमा पहिलोपटक हाफटाइम शो
काठमाडौं । पहिलोपटक विश्वकप फाइनलको मध्यान्तरमा ‘हाफटाइम शो’ आयोजना गरिने भएपछि खेलप्रेमी मात्र होइन, संगीतप्रेमीको ध्यान पनि यही कार्यक्रमतर्फ केन्द्रित भएको छ।
फाइनलअघि हुने सांगीतिक प्रस्तुतिमा विश्वका चर्चित कलाकारहरू सहभागी हुनेछन्। म्याडोना, शकिरा, जस्टिन बिबर, बीटीएस, बर्ना बोय, कोल्डप्ले लगायतका कलाकार एउटै मञ्चमा देखिने अपेक्षाले यस कार्यक्रमलाई विश्वव्यापी सांस्कृतिक उत्सवका रूपमा हेरिएको छ। फरक महादेश, भाषा र सांगीतिक शैलीका कलाकारलाई एउटै कार्यक्रममा समेटेर फुटबलमार्फत विश्व एकताको सन्देश दिने प्रयास गरिएको विश्लेषण भइरहेको छ।
फिफाका अनुसार टेलिभिजनमा प्रसारण हुने सांगीतिक प्रस्तुति करिब ११ मिनेट लामो हुनेछ। तर मञ्च निर्माण र हटाउने प्रक्रियासहित मध्यान्तर झन्डै २५ मिनेटसम्म पुग्न सक्ने बताइएको छ। कार्यक्रमबाट संकलन हुने रकम विश्वभरका बालबालिकालाई गुणस्तरीय शिक्षा र फुटबलका अवसर उपलब्ध गराउने अभियानमा खर्च गरिनेछ। विश्वव्यापी शैक्षिक कोषका लागि १० करोड अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखिएको छ भने टिकट बिक्रीबाट पनि यस अभियानमा सहयोग जुटाइँदै आएको छ।
