६० वर्षपछि स्पेन र अर्जेन्टिना भिड्दै, मेस्सी र यमालको संयोग

काठमाडौं ।  फिफा विश्वकपको प्रतिष्ठित ट्रफीका लागि सोमबार स्पेन र साविक विजेता अर्जेन्टिनाबीच ऐतिहासिक फाइनल खेल हुँदैछ। विश्वकपको मञ्चमा ६० वर्षपछि यी दुई टोली आमने-सामने हुन लागेका हुन्। १९९६ मा भएको सो खेलमा अर्जेन्टिना २ र स्पेनले १ गोलगरेका थिए ।   न्युयोर्कको न्युजर्सी स्टेडियममा नेपाली समयअनुसार सोमबार बिहान १२:४५ बजे सुरु हुने यो महाभिडन्तमा फुटबल इतिहासकै एउटा सबैभन्दा रोचक र भावनात्मक संयोग मैदानमा देखिँदैछ।

यस फाइनलको सबैभन्दा ठूलो आकर्षण अर्जेन्टिनाका महानायक लियोनेल मेस्सी र स्पेनका १९ वर्षीय युवा स्टार लामिन यमालबीचको भिडन्त हो। सन् २००७ मा बार्सिलोनाको एक च्यारिटी फोटोसुटका क्रममा २० वर्षीय मेस्सीले मात्र ३ महिनाका यमाललाई काखमा लिएर नुहाइदिएका थिए। सन् २०२४ मा भाइरल भएको त्यो ऐतिहासिक तस्बिर सोमबार वास्तविकतामा परिणत हुँदैछ । जहाँ तिनै यमाल पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना ‘गुरु’ समान मेस्सीको विरुद्धमा विश्वकपको उपाधिका लागि मैदान उत्रिँदैछन्।

स्पेन सन् २०१० पछि दोस्रो पटक विश्व च्याम्पियन बन्ने दाउमा छ भने अर्जेन्टिना चौथो पटक उपाधि जित्दै लगातार दुई पटक विश्वकप आफ्नो नाम गर्ने इतिहास रच्न चाहन्छ। यदि अर्जेन्टिना विजयी भएमा इटाली र ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने विश्वकै तेस्रो टोली बन्नेछ। मेस्सी यस विश्वकपमा ८ गोल र ४ असिस्टसहित गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन्।

अर्कोतर्फ स्पेनका मिकेल ओयारजाबाल ५ गोलसहित टोलीका शीर्ष स्कोरर हुन् भने ३० वटा सफल ड्रिबल गरेका यमाल प्रतियोगिताकै सबैभन्दा खतरनाक विङ्गर सावित भएका छन्।

यो फाइनल खेल मुख्यतया स्पेनको मजबुत रक्षापङ्क्ति र अर्जेन्टिनाको घातक आक्रमणबीचको लडाइँ हुनेछ। लुइस डे ला फुएन्तेको स्पेनले पूरे प्रतियोगितामा मात्र १ गोल खाएको छ । जहाँ गोलकिपर उनाई सिमोनले एकै सिजनमा ६ वटा ‘क्लिन सिट’ को रेकर्ड बनाएका छन् भने कप्तान रोड्रीले ६४८ सफल पासको कीर्तिमान राखेका छन्।

अर्कोतर्फ साविक विजेता अर्जेन्टिना लगातार सात खेल जित्दै र प्रतियोगितामा सबैभन्दा बढी १९ गोल गर्दै फाइनल पुगेको हो। इजिप्ट र इङ्गल्याण्डविरुद्ध सुरुमा पछि परेर पनि खेल उल्टाएको अर्जेन्टिनाले आफ्नो च्याम्पियन मानसिकता देखाइसकेको छ। सोमबार रोड्री र कुकुरेलामाथि मेस्सीलाई रोक्ने जिम्मेवारी हुनेछ भने अर्जेन्टिनाको भरोसा मेस्सी र जुलियन अल्भारेजमाथि रहनेछ।

स्पेनको सुरुवाती टोलीमा गोलकिपर उनाई सिमोन रहनेछन् भने रक्षापङ्क्ति पेड्रो पोरो, पाउ कुबार्सी, आयमेरिक लापोर्टे र मार्क कुकुरेलाले सम्हाल्नेछन्। मध्यपङ्क्तिमा कप्तान रोड्री र फेबियन रुइज खसिनेछन् भने अग्रपङ्क्तिमा लामिन यमाल, दानी ओल्मो, एलेक्स बेएना र मिकेल ओयारजाबाल उत्रने सम्भावना छ।

अर्कोतर्फ अर्जेन्टिनाको टोलीमा गोलकिपर एमिलियानो मार्टिनेज हुनेछन् भने डिफेन्समा नहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज र निकोलस ट्याग्लियाफिको देखिनेछन्। मिडफिल्डमा लिएन्द्रो परेडेस, एलेक्सिस म्याक एलिस्टर र एन्जो फर्नान्डेज रहनेछन् भने अग्रपङ्क्तिमा गिउलियानो सिमियोने, कप्तान लियोनेल मेस्सी र जुलियन अल्भारेजले जिम्मेवारी सम्हाल्नेछन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर