विश्वकप विजेताले ट्रफी र पदकसँगै ‘च्याम्पियनसिप रिङ’ पनि पाउने
काठमाडौं । फिफा विश्वकप २०२६ को च्याम्पियनले यसपटक ट्रफी र स्वर्ण पदकसँगै नयाँ सम्मानका रूपमा ‘च्याम्पियनसिप रिङ’ पनि प्राप्त गर्ने भएको छ। फिफाले २०२६ को विश्वकपबाट नयाँ परम्पराको सुरुवात गर्दै विजेता टोलीलाई पहिलो पटक च्याम्पियनशिप औंठी पनि प्रदान गर्ने घोषणा गरेको हो।
फिफाका अनुसार फाइनल खेल सकिएलगत्तै हुने पुरस्कार वितरण समारोहमा विजेता टोलीका कप्तान र मुख्य प्रशिक्षकलाई औपचारिक औंठी प्रदान गरिनेछ। त्यसपछि खेलाडीहरूको औंलाको आकारअनुसार व्यक्तिगत रूपमा डिजाइन गरिएका स्थायी औंठीहरू तयार गरी विशेष समारोहमार्फत हस्तान्तरण गरिनेछ।
फिफाले प्रतियोगिताका विजेताका लागि ३० वटा च्याम्पियनशिप औंठी सुरक्षित राखेको जनाएको छ। यसबाहेक १,९९६ वटा आधिकारिक रूपमा इजाजतपत्र प्राप्त व्यक्तिगत नम्बर गरिएका औंठीहरू विश्वभरका समर्थकका लागि सीमित संस्करणको संग्रहणीय वस्तुका रूपमा बिक्री गरिने छन्।
फिफाका अनुसार प्रत्येक औंठीको एक भागमा प्रतिष्ठित फिफा विश्वकप ट्रफी अंकित हुनेछ भने अर्को भागमा विजेता राष्ट्रको क्रेस्ट र पहिचान समावेश गरिनेछ। प्रत्येक औंठी व्यक्तिगत नम्बर, अनुकूलित आकार तथा प्रामाणिकताको प्रमाणपत्रसहित उपलब्ध हुनेछ। जसले यसलाई ऐतिहासिक सम्झनाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। विश्वकपको फाइनलमा न्यु जर्सी स्टेडियममा स्पेन र अर्जेन्टिनाले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।
