युरोपका दुई ‘हेभिवेट’ फ्रान्स र स्पेनबीच महाभिडन्त

काठमाडौं ।  स्पेन आफ्नो धारिलो रक्षापंक्तिको मदतमा बुधबार फ्रान्सको बलियो आक्रमण शक्तिलाई रोक्ने प्रयासमा रहनेछ। यो रहनेछ, विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेल। यो दुई ठूला टिमबीचको ‘हेभिवेट’ भिडन्त रहनेछ। युरोपको च्याम्पियन र डिडियर डेसच्याम्पको फ्रान्सेली टिमबीच टेक्सासमा खेल हुनेछ। यसलाई केहीले ‘फाइनल अगाडिको फाइनल’ को संज्ञा दिएका छन्।

नीलो कुनामा हुनेछ, फ्रान्स र यसको अन्तिम चारको यात्रा आफैंमा आक्रामक रहेको छ। टोलीसँग आक्रमणका लागि एकभन्दा बढी विकल्प छन्। त्यसको नेतृत्व कप्तान केलियन एमबाप्पे स्वयंले गरिरहेका छन्। यी खेलाडीले ६ खेलमा ८ गोल गरिसकेका छन्।

एमबाप्पेलाई आक्रमणमा साथ दिने अन्य खेलाडी छन्, बायर्न म्युनिखका माइकल ओलिस, पेरिस सेन्ट जर्मेन (पीएसजी) का बालोन डी’अर विजेता ओसमन डेम्बेले र डेसायर डोउ।

रातो कुनामा स्पेन रहेको छ। टोलीको सेमिफाइनल यात्रा संयमित रहेको छ। टिमको बढी जोड बलमाथि अत्यधिक नियन्त्रण हो। प्रशिक्षक लुइस डे ला फुन्टेको नेतृत्वमा स्पेनले आफ्नो पारम्परिक र वास्तविक ‘ट्रेडमार्क’ खेल खेलिरहेको छ।

जहाँ फ्रान्सको खेल व्यक्तिगत उत्कृष्ट प्रदर्शनमा टिकेको छ, त्यहीं स्पेन भने टिम प्रदर्शनका आधारमा रहेको छ। मध्यपंक्तिमा रहेका रोड्री, पेड्री र फाबिन रुइजले शृंखलाबद्ध बल पासको अनुपम नमुना पेस गरिरहेका छन्। उनीहरूलाई साथ दिने प्रयासमा छन्, किशोर विङ्गर लामिन यामल। यस्तोमा यो दुई फरक शैलीबीचको ‘क्लासिक’ खेल पनि हुनेछ।

यस अनुसार स्पेनिस टोली एमबाप्पेलाई रोक्ने बल पासको शृंखलामै व्यस्त रहनेछ। अर्कोतर्फ फ्रान्सेली रक्षापंक्तिको पनि यस विश्वकपमा अहिलेसम्म खासै परीक्षा भएको छैन। यहाँनिर इतिहासले स्पेनलाई प्रेरित गरिरहेको हुनेछ, किनभने उसले यूईएफए नेसन्स लिगको रोमाञ्चक खेलमा फ्रान्सलाई ५–४ ले हराएको थियो। सन् २०२४ को सेमिफाइनलमा पनि स्पेनले फ्रान्समाथि २–१ को जित निकालेको थियो।

बुधबार यही खेलको दिन यामलको जन्मदिन परेको छ। उनी १९ वर्षका हुनेछन्। उनी आफ्नो टिमका लागि चिन्ता लिनुपर्ने केही पनि नरहेको दाबी गर्छन्। उनी भन्छन्, ‘पक्कै पनि दुई ठूला टिमबीच खेल हुँदै छ। हेरौं, के हुनेछ । हामीलाई डर भने केहीको पनि छैन।’

स्पेनले क्वाटरफाइनलमा बेल्जियमको चुनौती २–१ ले समाप्त पारेको थियो। उनी थप्छन्, ‘यो खेललाई लिएर दुई सम्भावना छ। हुनसक्छ, फ्रान्स लगातार तेस्रोपल्ट विश्वकपको फाइनल पुग्ने छ। होइन भने हामी फ्रान्सलाई लगातार तेस्रो खेलमा पराजित गर्नेछौं।’

स्पेनी प्रशिक्षक डे ला फुन्टे भने केही संयमित देखिन्छन्। उनी भन्छन्, ‘फ्रान्सेली टिम अहिले उत्कृष्ट लयमा छ। फेरि हाम्रो दुवै टिमको खेल्ने शैली पनि फरक छ। फ्रान्सप्रति हाम्रो पूर्ण सम्मान छ। ठीक यही बेला हामी फ्रान्सलाई हराउने आत्मविश्वास पनि राख्छौं । हामीलाई फ्रान्सेली टिममा प्रतिभाशाली खेलाडीको कुनै कमी छैन भनेर थाहा छ। तर सबैले के पनि बुझ्न आवश्यक छ भने फ्रान्सलाई पछिल्ला दुई सेमिफाइनलमा कसैले हराएको छ भने त्यो स्पेनले नै हो।’

फ्रान्सेली आक्रमणको प्रयास भने स्पेनी रक्षापंक्तिलाई तोड्नु नै रहनेछ। स्पेनले बेल्जियमविरुद्धको पछिल्ला खेलमा मात्रै पहिलो गोल खाएको थियो। फ्रान्सका लागि फाइनल प्रवेश एक अर्को कारणले पनि प्रेरित रहनेछ। प्रशिक्षक डिडियर डेसच्याम्पको नेतृत्वमा फ्रान्सले अन्तिम प्रतियोगिता खेलिरहेको छ। यसको अन्त्यसँगै उनी टिमबाट टाढिने छन्। फ्रान्स यस विश्वकपमा फाइनल प्रवेश गर्दा उनीसामु लगातार तेस्रो फाइनल खेल्ने तेस्रो टिम हुने अवसर थियो।

यसअघि जर्मनी र ब्राजिलले लगातार तीनपल्ट विश्वकपको सेमिफाइनल खेलेको छ। आफ्नो नेतृत्वमा फ्रान्स विश्व फुटबलकै सबैभन्दा ठूलो शक्ति भएको तथ्य मान्न डेसच्याम्प तयार छैनन्। उनी भन्छन्, ‘टिममा राम्रा खेलाडी छन्, त्यसैले फ्रान्स बलियो भएको हो। तर मलाई के लाग्छ भने मेरो काम आफैंमा खराब छैन, सफल नै छ।’

उनको भनाइ छ, ‘यो फ्रान्सेली टिमसँग बिताएका सबै क्षण महत्त्वपूर्ण छन्। व्यक्तिगत रूपमा यति बेला म असाध्यै खुसी छु र खेलाडीहरू पनि खुसी रहेकोमा प्रसन्न छु।’ यसकै उदाहरणका रूपमा स्विडेनविरुद्धको गोलपछि एमबाप्पेले आफ्नो प्रशिक्षकसँग खुसीयाली मनाएका थिए। त्यसैलाई लिएर एमबाप्पेले भनेका थिए, ‘हाम्रो त टिमकै डीएनए हो, जस्तै परिस्थितिमा पनि एकजुट रहने।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर