आत्मदाहका घटनाले बालेन र रविबिच भेट गरायो, निष्कर्ष के ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच समसामयिक राजनीतिक सन्दर्भ, सरकार एवं पार्टी सञ्चालनका विषयमा हिजो आइतबार परामर्श भएको छ । उहाँहरूबिच पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि छलफल भएको छ ।

उनीहरूबिच पछिल्लो विकसित घटनाक्रम, पार्टीको केन्द्रीय समिति पूर्णताको विषय र मन्त्रिपरिषद् हेरफेर,संविधान संशाेधनको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ। सरकारलाई थप प्रभावकारी बनाउने, जनतामा बढ्दै गएको निराशालाई दीर्घकालीन रूपमा सम्बोधन गर्ने विषयमा छलफल भएको सचिवालय स्राेतले बतायाे।

‘पार्टी सभापति र प्रधानमन्त्रीबिच यो नियमित भेटवार्ता हो । त्यही सिलसिलामा कहिले प्रधानमन्त्री निवास बालुवाटारमा, कहिले सभापति निवास बुढानीलकण्ठमा छलफल भइराख्छ । सरकारकालाई कसरी प्रभावकारी बनाउने, समाजमा बढ्दै गएको निराशालाई कसरी दीर्घकालीन समाधान गर्ने भन्ने विषयमा छलफल भयो,’दुई नेताबिच भएको छलफलबारे स्राेतले भन्याे, ‘पछिल्लो समय जुन आत्मदाहको घटना घटेको छ, आजको सरकारको कामले मात्र होइन, वर्षौँदेखिको फ्रस्टेसनको उपज हो। त्यसकै पछिल्लो परिणाम हो,गणेश नेपाली र आश्विन राउत लगायतको आत्मदाह प्रकरण । जे भए पनि क्षति भएको छ । परिवारमा पीडा थपिएको छ । त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ।’

पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछानेबिचको भेट नियमित हो । उहाँले भन्नुभयो, “सरकार र पार्टी सञ्चालन, समसामयिक विषयमा छलफलको सिलसिला नियमित चलिरहन्छ । यद्यपि प्रधानमन्त्री र सभापतिबिचको छलफलबारे पूर्ण अपडेट छैन । पक्कै नियमित बैठक नै हो ।”

रास्वपाले केन्द्रीय समितिलाई पूर्णता दिएर सङ्गठनलाई सशक्त बनाउने तयारी थालेको छ । रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनपछि सम्पूर्ण ध्यान आन्तरिक संरचनालाई केन्द्रदेखि वडास्तरसम्मै द्रुततर एवं प्रभावकारी बनाउनेतर्फ केन्द्रित गरेको हो । असार ७ देखि १२ गतेसम्म चितवनमा आयोजित प्रथम महाधिवेशनपछि बलियो साङ्गठनिक आत्मबल लिएर फर्किएको रास्वपा नेतृत्व र कार्यकर्ता पङ्क्ति साङ्गठनिक पुनर्जागरणमा जुटेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर