अर्जेन्टिना-इजिप्ट खेल : पक्षपात नगरिएको दावी
काठमाडौं । फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाले अर्जेन्टिना र इजिप्टबीचको विश्वकप अन्तिम १६ को खेलमा रेफ्रीले कुनै पक्षपात नगरेको बताएका छन्। उनले निराधार आरोपले रेफ्री र उनीहरूका परिवारमाथि समेत धम्कीको जोखिम बढ्न सक्ने चेतावनी दिए।
फिफाको वेबसाइटमा बिहीबार प्रकाशित अन्तर्वार्तामा कोलिनाले अर्जेन्टिनाको अन्तिम ३२ को रोमाञ्चक जितमा गरिएको रेफ्रीको निर्णयको बचाउ गर्दै खेल अधिकारीहरूले पूर्ण स्वतन्त्रताका साथ आफ्नो जिम्मेवारी निर्वाह गरेको बताए।
उनले रेफ्रीका निर्णयबारे बहस हुनु फुटबलको स्वाभाविक पक्ष भए पनि इजिप्टले हारपछि रेफ्रीको निष्पक्षतामाथि उठाएको प्रश्न अस्वीकार्य रहेको बताए। कोलिनाले भने, ‘छोटो अवधिमा यति धेरै खेल हुँदा सबै कुरा सधैं अपेक्षाअनुसार नहुन सक्छ। यस्तो अवस्थामा रेफ्रीहरू अर्को खेलका लागि अझ राम्रो तयारी गर्न थप मेहनत गर्छन्।’
उनले थपे, ‘निर्णयबारे रचनात्मक छलफल फुटबलको अभिन्न हिस्सा हो। तर कुनै आधारविनाका आरोपको हाम्रो खेलमा कुनै स्थान छैन।’
कोलिनाले रेफ्रीमाथि गरिने यस्ता आरोपले उनीहरू र उनीहरूका परिवारलाई धम्कीको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताए। उनले भने, ‘फिफा विश्वकपका कुनै पनि खेल अधिकारीको इमान्दारितामाथि कसैले प्रश्न उठाउन सक्दैन। त्यसैगरी फिफाको रेफ्री प्रणालीलाई कसैले प्रभाव पार्न सक्छ भन्ने दाबी पनि गलत हो। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले समेत रेफ्रीको निर्णयमा हस्तक्षेप गर्न सक्दैनन्।’
उनका अनुसार खेलाडी र प्रशिक्षकले जस्तै रेफ्रीहरूले पनि हरेक खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने इमानदार प्रयास गरिरहेका हुन्छन्। इजिप्ट अन्तिम १६ बाट बाहिरिए पनि आफूहरूमाथि अन्याय भएको दाबी गरिरहेको छ। अर्जेन्टिनाले २-० ले पछि परेको अवस्थाबाट खेलमा शानदार पुनरागमन गर्दै अन्तिम ११ मिनेटमा दुई गोल फर्कायो। इन्जुरी समयमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३-२ को जित दिलाएका थिए।
खेलपछि इजिप्टका प्रशिक्षक होसाम हसनले अर्जेन्टिनालाई प्रतियोगितामा टिकाइराख्न रेफ्रीमाथि दबाब परेको हुन सक्ने आशंका व्यक्त गरेका थिए। उनले इजिप्टलाई क्वार्टरफाइनल पुग्ने अवसरबाट ‘ठगिएको’ समेत आरोप लगाए। इजिप्ट फुटबल संघले पनि भिडियो सहायक रेफ्री (भिएआर) प्रणालीको अनुचित प्रयोग भएको आरोप लगाउँदै त्यसविरुद्ध चुप नबस्ने जनाएको थियो।
