पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजको राजीनामा

काठमाडौं । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट औपचारिक रूपमा बाहिरिने घोषणा गरेका छन् । विश्वकपको अन्तिम–१६ मा स्पेनसँग १–० ले पराजित भएपछि स्पेनी प्रशिक्षक मार्टिनेजले आफ्नो कार्यकाल समाप्त भएको बताएका हुन् ।

उनले आफ्नो सम्झौता सकिएको र अब पोर्चुगल फुटबल महासंघले नयाँ प्रशिक्षक नियुक्त गरेर नयाँ युग सुरु गर्ने समय आएको बताएका छन् । खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मार्टिनेजले आफूले पोर्चुगलको जिम्मेवारी एउटै लक्ष्यका साथ सम्हालेको बताए, त्यो थियो विश्वकप जित्नु । तर लक्ष्य पूरा गर्न नसकेकाले अब नयाँ प्रशिक्षकलाई जिम्मेवारी दिने समय आएको उनको भनाइ थियो ।

मार्टिनेजले साढे तीन वर्षको कार्यकालमा आफूलाई विश्वास र पूर्ण साथ दिएको पोर्चुगल फुटबल महासंघप्रति आभार व्यक्त गरे । उनले महासंघका अध्यक्ष पेड्रो प्रोएन्सालाई विशेष धन्यवाद दिँदै उच्चस्तरमा प्रतिस्पर्धा गर्न आवश्यक सबै सुविधा उपलब्ध गराइएको बताए । उनले पोर्चुगलका नागरिकबाट सधैँ आत्मीयता र सम्मान पाएको उल्लेख गर्दै राष्ट्रिय टोलीको नेतृत्व गर्नु आफ्नो लागि सम्मान र गौरवको विषय भएको बताए ।

विश्वकपबाट बाहिरिनुपरे पनि टोलीले सँगै हासिल गरेका उपलब्धिप्रति आफू गर्व महसुस गर्ने उनले बताए । मार्टिनेजले स्पेनविरुद्ध आफ्ना खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको दाबी गरे । प्रतियोगिताको उपाधि दाबेदार टोलीविरुद्ध खेल निकै प्रतिस्पर्धात्मक भएको उल्लेख गर्दै उनले नतिजा सानो अन्तरले तय भएको बताए । पोर्चुगलको एउटा प्रहार क्रसबारमा लागेको थियो भने त्यसलगत्तै मिकेल मेरिनोले इन्जुरी समयमा निर्णायक गोल गर्दै स्पेनलाई क्वाटरफाइनलमा पुर्‍याएका थिए ।

पोर्चुगलका प्रशिक्षकका रूपमा आफ्नो अन्तिम पत्रकार सम्मेलनमा मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोको विशेष प्रशंसा गरे । उनले रोनाल्डोलाई अनुकरणीय कप्तान भन्दै उनको नेतृत्व क्षमता, व्यावसायिकता र समर्पणले राष्ट्रिय टोलीमा उच्च मापदण्ड स्थापित गरेको बताए । त्यस्तै, उनले नुनो मेन्डेसको चोटले टोलीको अट्याकिङमा ठूलो असर परेको स्वीकार गरे ।

प्रतियोगिताभर टोलीको मुख्य अट्याकिङ विकल्पमध्ये एक रहेका मेन्डेसको अनुपस्थितिले खेलमा प्रभाव परेको उनको भनाइ थियो । मार्टिनेजले पोर्चुगलको हार प्रतिबद्धताको अभावका कारण नभएको स्पष्ट पार्दै टोलीले अन्तिम मिनेटसम्म पूरा संघर्ष गरेको बताए । तर आफ्नो प्रमुख लक्ष्य विश्वकपको उपाधि जित्नु रहेकाले त्यो लक्ष्य पूरा हुन नसकेपछि पद छाड्नु नै सबैभन्दा उपयुक्त निर्णय भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर