दुई महाशक्ति टिम स्पेन र पोर्चुगल पहिलोपटक भिड्दै
काठमाडौं । स्पेन र पोर्चुगलबिचको प्रिक्वाटरफाइनल विश्वकप फुटबल २०२६ मा अहिलेसम्मको दुई महाशक्ति टिमबिचको पहिलो भिडन्तका रूपमा रहने छ । उपाधि दाबेदारका रूपमा प्रतियोगितामा आएका यी दुई टिममध्ये एक सोमबार राति घर फर्कने छ भने जित्ने टिमको मनोबल थप उच्च हुने छ ।
सो खेल दुई पुस्ताबिचको प्रतिद्वन्द्विताका रूपमा पनि हेरिएको छ । पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डो र विश्व फुटबलको भविष्य १८ वर्षीय लामिने यमालको प्रतिस्पर्धाका कारण पनि यो खेलको चर्चा छ । सो खेलमा स्पेन पोर्चुगलसँग बदला लिने दाउमा पनि हुने छ । गत वर्ष भएको नेसन्स लिगको उपाधि जित्ने क्रममा पोर्चुगलले स्पेनलाई नै फाइनलमा हराएको थियो । निर्धारित र अतिरिक्त समयको खेल २–२ ले बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा पोर्चुगल च्याम्पियन बनेको हो । पोर्चुगलसँग हारेपछि स्पेन उपाधि रक्षा अभियानमा चुकेको थियो ।
यद्यपि यी दुई टिमबिचको हेड टु हेडमा स्पेन धेरै अगाडि छ । यी दुई टिमबिच अहिलेसम्म ४१ खेल हुँदा पोर्चुगलले मात्र सात खेलमा हार बेहोरेको छ । यसै गरी स्पेन ३४ खेलमा अपराजित छ । स्पेनले यसपालि ‘अफेन्स’ मा भन्दा डिफेन्समा धेरै प्रभाव पारेको छ । सन् २०२२ को कतार संस्करणपछि जापानसँगको समूह चरणपछि स्पेनले अहिलेसम्म विश्वकपमा गोल बेहारेको छैन । तर पोर्चुगल साधारण विपक्षी भने होइन । स्पेनको मिडफिल्ड सबभन्दा बलियो मानिन्छ तर भिटिन्हा, जोआओ नेभेस र बु्रनो फर्नान्डेजको मिडफिल्डको अझ बढी चर्चा हुने गर्छ । स्पेनलाई सबैभन्दा बढी समस्या पेरिस सेन्ट जर्मनका फुल ब्याक नुनो मेन्डिसले पार्न सक्छ । उहाँसमक्ष यमाललाई रोक्ने जिम्मेवारी पनि हुने छ ।
केप भेर्डेसँगको गोलरहित बराबरीमा आलोचित बनेको स्पेनले त्यसपछि साउदी अरबलाई ४–०, उरुग्वेलाई १–० र अस्ट्रियालाई अन्तिम ३२ मा ३–० ले हराएर आफूलाई पुरानै लयमा फर्काइसकेको छ । पोर्चुगल बल्लतल्ल प्रिक्वाटरफाइनलमा पुगेको छ । पोर्चुगलको टिममा विश्वस्तरीय खेलाडीको बाहुल्य छ तर पोर्चुगलले अपेक्षा अनुरूप खेल्न सकेको छैन । यस विश्वकपको पहिलो खेलमा कङ्गोसँग १–१ को नीरस बराबरीमा खेलेपछि पोर्चुगलले नवप्रवेशी उज्बेकिस्तानलाई ५–० ले हराएर सानदार पुनरागमन गरेको थियो तर समूह चरणमा अन्तिम खेलमा पोर्चुगलले पुनः अपेक्षाकृत खेल देखाएन । कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएपछि पोर्चुगलले समूह उपविजेतामा चित्त बुझाएको थियो । त्यसपछि क्रोएसियाविरुद्ध अन्तिम ३२ मा पनि कठिन पुनरागमन जित हासिल गरी पोर्चुगल अगाडि बढेको हो ।
पोर्चुगलका महान् खेलाडी रोनाल्डोले सुरुवाती चमक केही कम देखिएको भए पनि तीन गोल गरेर डिबक्समा अझै खतरनाक भएको साबित गर्नुभएको छ । गत वर्ष नेसन्स लिगको फाइनलमा स्पेनलाई हराउँदा पनि रोनाल्डोले गोल गर्नुभएको थियो । सन् २०१८ को विश्वकपमा रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक पनि गर्नुभएको थियो । रोनाल्डो अहिले आफ्नो खेल जीवनका एक हजार गोल गर्ने अभियानमा रहनुभएको छ । रोनाल्डोले विश्वकपपछि अन्तर्राष्ट्रिय खेल जीवनबाटै सन्न्यास लिने हल्ला पनि भइरहेको छ ।
स्पेनी खेलाडीमध्ये अहिले सबैको ध्यान लामिनेमा छ तर मिकेल ओयरजाबल स्पेनी टिमका सबभन्दा प्रभावशाली खेलाडीका रूपमा देखिनुभएको छ । स्पेनले खेलेको पछिल्ला १६ खेलमा आयरजाबल २३ गोलमा संलग्न हुनुभएको छ । पछिल्लो खेलमा पनि उहाँले दुई गोल गर्नुभएको थियो ।
