ह्यारी केनको दुई गोलले इङ्ल्यान्ड अन्तिम १६ मा
काठमाडौं । कप्तान ह्यारी केनले अन्तिम १५ मिनेटमा दुई गोल गर्दै इङ्ल्यान्डलाई अन्तिम १६ मा पुर्याएका छन्। टोली फिफा विश्वकप २०२६ को अन्तिम १६ प्रवेशको निर्णायक खेलमा दबाबपूर्ण अवस्थामा पुगेको थियो।
प्रशिक्षक थोमस टुचेलको टोली खेल सकिन १५ मिनेट बाँकी रहँदासम्म प्रतियोगिताबाट बाहिरिने संघारमा थियो। कंगोका ब्रायन सिपेङ्गाले सुरुआतमै गरेको गोलको अग्रतालाई निकै लामो समय सम्म जोगाउन सक्षम भयो। इङ्ल्यान्ड लगातार आक्रमणमा उत्रिए पनि कंगोका गोल रक्षक लियोनाल म्पासीले एकपछि अर्को उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइरहेका थिए।
पहिलो हाफको इन्जुरी समयमा भने योआने विस्साले गोलरक्षकलाई बिट गरिसकेको अवस्थामा प्रहार पोस्टमा लागेपछि डीआर कंगोले अग्रता दोब्बर बनाउने सुनौलो अवसर गुमायो। त्यो चुकले इङ्ल्यान्डलाई खेलमा फर्किने आशा जीवित राख्यो। समय सकिँदै जाँदा कप्तान केन टोलीका उद्धारकर्ता बने।
खेलको ७५औँ मिनेटमा वैकल्पिक खेलाडी एन्थोनी गोर्डनले दिएको उत्कृष्ट क्रसलाई केनले शक्तिशाली हेडमार्फत जाली चुमाउँदै बराबरी गोल गरे। त्यसको चार मिनेटअघि खेल अतिरिक्त समयमा धकेलिने संकेत देखिए पनि ८६औँ मिनेटमा केनले व्यक्तिगत उत्कृष्टता प्रदर्शन गरे।
पेनाल्टी क्षेत्रको किनारमा बल नियन्त्रणमा लिएर उनले सुन्दर टर्न गरे, केही कदम अघि बढे र शक्तिशाली प्रहार गर्दै बललाई गोलरक्षक म्पासीलाई कुनै मौका नदिइ जाली चुमाए। विश्वकपमा उनको यो पाँचौँ गोल हो।
इंग्ल्यान्डलाई सम्भावित ऐतिहासिक अपमानबाट जोगाउँदै अन्तिम १६ को यात्रासँगै हजारौं इंग्लिस समर्थक माझ खुसीयाली छाएको थियो। लामो समयसम्म फितलो प्रदर्शन गरेको इंग्ल्यान्ड अन्ततः कप्तान केनको प्रेरणादायी प्रदर्शनमा भर पर्दै संकटबाट उम्किएको हो। अब अन्तिम १६ मा इंग्ल्यान्डले सह–आयोजक मेक्सिकोसँग मेक्सिको सिटीमा प्रतिस्पर्धा गर्नेछ।
