ब्राजिलले जापानलाई हरायो, जर्मनी पेनाल्टी सुट आउटमा पाराग्वेसँग पराजित
काठमाडौं । ग्याब्रियल मार्टिनेलीले अन्तिम समयमा गरेको गोलमा ब्राजिल विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । ह्युस्टनमा सोमबार भएको अन्तिम ३२ को प्रतिस्पर्धामा ब्राजिलले जापानलाई २–१ गोलले पराजित गर्यो ।
खेल अतिरिक्त समयमा अग्रसर भएको समयमा मार्टिनेलीले इन्जुरी टाइमको पाँचौं मिनेटमा ब्रुनो गुइमेरेजको पासमा निर्णायक गोल गरेका थिए । ५ पटकको विजेता ब्राजिलले क्वाटरफाइलनमा स्थान पाउन नर्वे र आइभोरी कोस्टको विजेतासँग अन्तिम १६ मा खेल्ने छ । ब्राजिलले सन् २००२ यता विश्वकपको उपाधि जित्न सकेको छैन ।
काइसु सानोले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै जापानलाई २९ औं मिनेटमा अग्रता दिलाएका थिए । मध्यभागबाट ब्राजिली खेलाडीको खुुट्टाबाट बल लिँदै उनले एक्लै अगाडि बढाएर पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारमा विपक्षी गोलरक्षक एलिसन बेकरलाई मौका नदिई गोल गरेका थिए ।
