नवप्रवेशी केप भेर्डेको कीर्तिमान : अर्जेन्टिनासँग खेल्दै

काठमाडौं ।  विश्वकप फुटबल २०२६ मा नवप्रवेशी केप भेर्डे नकआउट चरणमा पुगेपछि विश्वकप फुटबल २०२६ मा एउटा सुन्दर कथा रचिएको छ । स्पेन, उरुग्वे र साउदी अरब सामेल समूह ‘एच’ मा तीन खेल बराबरीमा खेलेर केप भेर्डेले शनिबार समूह उपविजेताको हैसियतमा अन्तिम ३२ मा स्थान बनायो । अब उसले प्रिक्वाटरफाइनलमा पुग्न उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाविरुद्ध खेल्ने छ ।

केप भेर्डेले समूह चरणका अन्तिम खेलमा साउदी अरबलाई गोलरहित बराबरीमा रोकेपछि इतिहास बनेको हो । यसअघि केप भेर्डेले युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित र दुई पटकको विजेता उरुग्वेलाई २–२ ले बराबरीमा रोकेको थियो । केप भेर्डेको खुसीसँगै उरुग्वे भने समूह चरणबाटै बिदा भएको छ । सोही राति स्पेनसँग १–० ले पराजित भएपछि उरुग्वेको अगाडि बढ्ने ढोका बन्द भयो ।

केप भेर्डे भाग्यमानी पनि रह्यो । विश्वकपमा समूह चरणका तिनै खेल बराबरीमा खेलेर तीन अङ्क प्राप्त गरी अगाडि बढेको उदाहरण कमै मात्र छ । सन् १९५८ मा वेल्स, सन् १९९० मा आयरल्यान्ड र नेदरल्यान्ड्स तथा सन् १९९८ मा चिली पनि तिनै खेल बराबरीमा खेलेर अगाडि बढेको थियो । सन् २०१० मा न्युजिल्यान्ड तिनै खेल बराबरीमा खेलेपछि समूह चरणबाट बिदा भएको थियो । केप भेर्डेका प्रशिक्षक बुबिस्टाले सपना पूरा गर्न असम्भव नभएको बताउनुभएको थियो । बुबिस्टाको टिमले उहाँको भनाइलाई सही साबित गरेको छ । अफ्रिकाको पश्चिम तटमा रहेको सुन्दर टापु केप भेर्डे मात्र पाँच लाख जनसङ्ख्या भएको देश हो । कुराकाओ र आइसल्यान्डपछि केप भेर्डे विश्वकप फुटबल खेल्ने तेस्रो सबभन्दा सानो राष्ट्र हो । त्यसैले पनि केप भेर्डेको नकआउट चरण प्रवेश विशेष बनेको छ । विश्वकप छनोटमा क्यामरुन र अङ्गोला जस्ता बलियो फुटबल राष्ट्रलाई पछाडि पारेर स्वतः चयन भएपछि केप भेर्डेको चर्चा भएको थियो ।

साउदी अरबविरुद्धको खेलमा ४० वर्षीय गोलरक्षक भोजिन्हो पुनः चम्कनुभयो । स्पेनविरुद्धको खेलपछि विश्वचर्चित बन्नुभएका भोजिन्होले पूर्वार्धको इन्जुरी समयमा मोहम्मद कानो, खेलको ६६ औँ मिनेटमा मोहम्द अबु अल समात र ९२ औँ मनेटमा अब्दुलाल अल हाम्दानको गोल हुने खालको प्रहारलाई विफल पार्नुभएको थियो । सो समूहमा स्पेन विजेता बन्यो । खेलको ४२ औँ मिनेटमा एलेक्स बायनाले गरेको गोल निर्णायक बनेपछि स्पेनले जित प्राप्त ग¥यो । स्पेन कुल सात अङ्कसहित अगाडि बढ्यो । स्पेनले अब अस्ट्रिया अथवा अल्जेरियामध्ये एकविरुद्ध अन्तिम ३२ मा खेल्ने छ । सो खेलको इन्जुरी समयमा उरुग्वेका अगस्टिन कानोबियोले रातो कार्ड पाउनुभएको थियो ।

उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराको गल्तीमा बायनाले गोल गर्नुभएको हो । यस प्रतियोगितामा अनुभवी गोलरक्षक मुस्लेराको यो तेस्रो ठुलो गल्ती हो । उरुग्वेको प्रशिक्षक मार्सेलो बिएस्लाले उरुग्वेले तीन खेलमा राम्रो खेल्दाखेल्दै पनि भाग्य आफ्नो पक्षमा नहुँदा निराश हुनु परेको बताउनुभयो । हामीले तीन खेलबाट दुई होइन सात अङ्क हासिल गर्नु पथ्र्यो । यस टिममा विश्वस्तरीय खेलाडीहरू छन् तर यस्तो कुरा गर्दा अहिले आफ्ना बचाउ गरे जस्तो मात्र हुन्छ । यस परिणामको जिम्मेवारी म लिने छु, उहाँले भन्नुभयो ।

फिफाको १९ औँ स्थानमा रहेको उरुग्वे यस विश्वकपबाट बाहिरिने अहिलेसम्मको उच्च वरीयताप्राप्त टिम हो । खेल सकिएपछि उरुग्वेका खेलाडीले आँसु रोक्न सकेनन् । यद्यपि सो टिम रङ्गशालाबाट बाहिरिँदा समर्थकलाई उनीहरूको विरुद्धमा नारा लगाएका थिए ।

दोस्रो विश्वकप उपाधिको खोजीमा रहेको स्पेनले भने पहिलो खेलमा केप भेर्डेसँग गोलरहित बराबरीमा रोकिएपछि शानदार पुनरागमन गरेको छ । उसले दोस्रो खेलमा साउदी अरबलाई ४–० ले हराएको थियो । सन् २०१० मा विश्वकप उपाधि जितेपछि स्पेन अहिलेसम्म क्वाटरफाइनलमा पनि पुग्न सकेको छैन । अहिले स्पेनका लागि चिन्ताको विषय भएको उसका प्रमुख खेलाडी लामिने यमाल लयमा नदेखिनु हो । उरुग्वेविरुद्ध पनि स्वाभाविक खेल खेल्न नसकेपछि यमाललाई खेलको ७६ औँ मिनेटमा फेरान टोरेजले स्थानापन्न गर्नुभएको थियो । स्पेन र उरुग्वेबिचको खेलअघि भेनेजुएलामा गएको महाभूकम्पमा परी निधन हुनेहरूको सम्झनामा मौनधारण गरिएको थियो । भेनेजुएलामा गत बुधबार लगातार दुई पटक ठुलो भूकम्प गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर