सेनेगलले इराकलाई ५ गोल ठोक्यो
काठमाडौं । अफ्रिकी च्याम्पियन सेनेगलले शनिवार बिहान फिफा विश्वकप २०२६ को समूह ‘आई’ अन्तर्गत आफ्नो अन्तिम खेलमा इराकलाई ५–० ले पराजित गरेको छ । लगातार दुई हारपछि दवावमा रहेको सेनेगलले अन्तिम खेलमा प्रभावशाली प्रदर्शन गर्दै ऐतिहासिक जित दर्ता गरेको हो ।
फ्रान्स र नर्वेसँग लगातार पराजित भएपछि प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको सेनेगलले इराकविरुद्ध प्रारम्भदेखि नै आक्रामक खेल प्रस्तुत गर्यो । खेलको चौथो मिनेटमै हाबिब डियाराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
११औँ मिनेटमा कप्तान साडियो मानेलाई गोल गर्ने स्पष्ट अवसरबाट रोक्ने क्रममा इराकका डिफेन्डर रेबिन सुलाकाले रातो कार्ड पाएपछि इराक १० खेलाडीमा सीमित भयो । त्यसपछि सेनेगलले खेलमा पूर्ण नियन्त्रण कायम राख्दै दोस्रो हाफमा गोलको वर्षा गर्यो ।
