मेसीलाई पछ्याउँदै एम्बापे र हालान्ड

काठमाडौं ।  विश्वकप–२०२६ मा मङ्गलबार विश्व फुटबलका तीन उत्कृष्ट स्ट्राइकर लियोनेल मेसी, किलियन एम्बापे र इर्लिङ

हालान्ड चम्किनुभएको छ । अर्जेन्टिनाका मेसीले विश्वकपमा दुई गोल गरेर सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउनुभयो । त्यसपछि फ्रान्सका एम्बापेले इराक र हालान्डले घानाविरुद्ध दुई–दुई गोल गरेर मेसीलाई पछ्याउने व्रmमलाई जारी राख्नुभयो ।

यसअघि पहिलो चरणमा पनि मेसीले ह्याट्रिक गर्दा एम्बापे र हालान्डले दुई–दुई गोल गर्नुभएको थियो । यी तीन जनाले मिलेर विश्वकपमा कुल १३ गोल गरिसक्नुभएको छ । गोल्डेन बुटको दौडमा मेसी पाँच गोलसहित अगाडि हुनुहुन्छ । एम्बापे र हालान्ड चार–चार गोल गरेर मेसीलाई पछ्याइरहनुभएको छ । यी तीन स्ट्राइकरको लयले गोल्डेन बुटको प्रतिस्पर्धा रोचक हुने सम्भावना देखिएको छ ।

पछिल्लो संस्करणमा एम्बापेले मेसीलाई निराश पार्दै गोल्डेन बुट जित्नुभएको थियो । यद्यपि अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा हराएर उपाधि जितेपछि एम्बापेको सो उपलब्धि खल्लो बनेको थियो । मेसीले अहिलेसम्म गोल्डेन बुट भने जित्न सकेका छैनन् । विश्वकप ट्रफी उचाल्नुका साथै दुई पटक गोल्डेन बल पनि जितिसकेका मेसीले यसपालि आफ्नो सङ्ग्रहमा विश्वकपको गोल्डेन बुट पनि सामेल गर्ने अपेक्षा गरिएको छ ।

यसपालि मेसी र एम्बापेलाई गोल्डेन बुटको दाबेदारीमा हालान्डले चुनौती दिने सम्भावना छ तर हालान्डलाई सो गौरव जित्न आफ्नो टिमको पनि सहयोग चाहिने छ । हालान्डको नर्वेलाई अर्जेन्टिना र फ्रान्स सरह लामो यात्रा तय गर्ने टिमका रूपमा लिइएको छैन । नर्वेका प्रशिक्षक स्टेल सोल्बाकेनले पनि फ्रान्स र अर्जेन्टिनाका लागि खेल्दा गोल्डेन बुट जित्न सजिलो हुन्छ तर अर्को खेलमा इर्लिङलाई थप खेल खेल्न र थप मद्दत गर्ने प्रयास गर्ने छौँ, भन्नुभयो ।

छ फिट पाँच इन्च अग्ला म्यान्चेस्टर सिटीका स्ट्राइकर हालान्डले नर्वेका लागि लगातार १२ प्रतिस्पर्धात्मक खेलमा गोल गरिसक्नुभएको छ । नर्वेबाट खेल्दा हालान्ड पछिल्लो पटक सन् २०२४ अक्टोबर १३ तारिखमा गोलविहीन हुनुभएको थियो ।

यस विश्वकपमा जर्मनीका डेनिज उन्डाभ र क्यानडाका जोनथन डेभिडले तीन–तीन गोल गरेर आफूहरूलाई पनि गोल्डेन बुटको होडमा कायम राख्नुभएको छ । यसै गरी १८ खेलाडीले दुई–दुई गोल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर