रास्वपा महाधिवेशन : बन्द सत्र सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्द सत्र सुरु भएको छ । सोमबारदेखि रोकिएको मङ्गलबार दिउँसो साढे ३ बजेपछि बन्द सत्र सुरु भएको हो। रास्वपाका शीर्ष नेता बन्द सत्र हुने हलमा पुगिसकेका छन्।
पार्टी सभापति रवि लामिछाने, नेता स्वर्णिम वाग्ले, शिशिर खनाललगायतका नेता मञ्चमा उपस्थित हुनुहुन्छ। सभापति लामिछानेले घण्टी बजाएर बन्द सत्रको सुरुवात गर्नुभएको छ। बन्द सत्रमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह भने देखिनुभएको छैन। प्रधानमन्त्री शाह राजनीतिक प्रतिवेदन पेस गर्नुअघि हलमा उपस्थित हुनु हुनेछ ।
बन्द सत्रलाई सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले भन्नुभयो, “हामीले देखेका सपनालाई आधिकारिकता दिने यो अवसर हो।” सभापति लामिछानेले आफूहरूलाई नागरिकले विश्वास गरेको उल्लेख गर्दै परिणाम दिनुपर्नेमा जोड दिनुभयो ।

