कांग्रेस फुटिसकेको शशांकको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्रको विभाजनलाई अत्यन्तै दुर्भाग्यपूर्ण भन्दै चिन्ता व्यक्त गरेका छन्।
विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै उनले पार्टी व्यावहारिकरूपमा फुटिसकेको उल्लेख गर्दै इतिहास र हालसम्मका संस्थागत उपलब्धिलाई जोगाउनका लागि कांग्रेस जसरी पनि मिल्नुपर्नेमा जोड दिए।
उनले परिवर्तनको पक्षमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर लड्नुपर्ने आवश्यकता औँल्याए। वर्तमान सभापति गगन थापालाई लक्षित गर्दै कोइरालाले यति धेरै पुराना र अनुभवी नेताहरू बाहिर रहँदा एक्लै पार्टी चलाउन सम्भव नहुने भन्दै सबैलाई समेटेर अघि बढ्न आग्रह गरे।
लामो संघर्ष र ठूलो बलिदानबाट बनेको कांग्रेस अहिले टुक्रिएको अवस्थामा पुग्नु पीडादायी भएको भन्दै उनले पार्टी आफैँ नटुक्रिएको बरु यसलाई टुक्र्याइएको दाबी गरे। कोइरालाले सर्वोच्च अदालत र निर्वाचन आयोगको गलत निर्णयका कारण पार्टी आज यो विभाजनको अवस्थामा आइपुगेको आरोप समेत लगाए।
