नयाँ पार्टीको नेतृत्व दुर्गा प्रसाईंले गर्नेछ : धवलशमशेर

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नुभएका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न नयाँ राष्ट्रवादी पार्टी निर्माण प्रक्रिया सुरु भएको बताउनुभएको छ ।

आइतबार काठमाडौँमा आयोजित ‘राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रम’ मा बोल्दै नेता राणाले नयाँ पार्टीको नेतृत्व दुर्गा प्रसाईंले गर्ने स्पष्ट पार्नुभयो । प्रसाईंले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा बोकेर देशव्यापी रूपमा नागरिकको विश्वास जितेकाले उहाँकै नेतृत्वमा पार्टी अघि बढ्ने उहाँको भनाइ थियो ।

नयाँ बन्ने पार्टीले राजासहितको प्रजातन्त्रको वकालत गर्ने र मुलुकमा हिन्दु राष्ट्र कायम गराउने संकल्प लिएको नेता राणाले बताउनुभयो । उहाँले भन्नुभयो, “राजसंस्था र हिन्दु राज्यको एजेण्डा रक्षाका लागि सबै राष्ट्रवादी र राजावादी शक्तिहरू एक ठाउँमा आउनु आवश्यक छ । प्रसाईंजी यस एजेण्डाको बलियो खम्बा बन्नुभएको छ, उहाँकै नेतृत्वमा हामी आगामी दुई-तीन महिनाभित्रै एउटा मजबुत शक्तिका रूपमा जनतामाझ जानेछौँ ।”

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई इमान्दारिताका साथ अघि नबढाएका कारण आफूहरूले नयाँ पार्टी स्थापना गर्नुपर्ने परिस्थिति निर्माण भएको दाबीसहित नेता राणाले जिकिर गर्नुभयो ।

राजा गद्दीमा बसेका दिन दुई भाइ खप्तड जाउँला नि ! : प्रसाईं

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनर्स्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने दाबी गरेका छन्। संयोजक प्रसाईले राजसंस्था फर्काउन र गद्दीमा राख्नका लागि धवलशमशेर राणासँग आफूले मिलेर नयाँ पार्टी खोल्ने निर्णय लिएको पनि स्पष्ट पारे। उनले आफूहरुले हिन्दु अधिराष्ट्र कायम गर्ने संकल्प पनि लिएको बताए। सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति नपाउने संयोजक प्रसाईको भनाई थियो।
उनले भने,‘यहाँ मिल्ने, बिग्रने कुरै छैन। बिग्रिने के का लागि? मिल्ने के का लागि? पहिला उद्देश्य हुनु पर्‍यो नि। उद्देश्य हामी दुई जनाको एउटै छ,नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन्। यही होइन हाम्रो उद्देश्य ? जुन दिन राजा गद्दीमा बस्नुहुन्छ, राजसंस्था फर्किन्छ र, राजा गद्दीमा बस्छन् नि ! त्यो दिन दाजु र भाइ पहेंलो लुगा लगाएर जाउँला नि ! खप्तड। के बिग्रेको छ यहाँ ? कस्ता, कस्ता योगी महात्माहरु खप्तड बसेका हुन् नि त।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर