क्यानडाको पहिलो चुनौती बोस्निया हर्जगोभिना

काठमाडौं ।  विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सहआयोजक क्यानडाले शुक्रबार बोस्निया हर्जगोभिनासँग ऐतिहासिक खेल खेल्दै छ । क्यानडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुने छ ।

विश्वको सबभन्दा ठुलो फुटबल मञ्चमा क्यानडाका लागि घरेलु मैदानमा पदार्पण मात्र होइन, विगत केही समयदेखि फुटबलमा गरेको सुधारलाई नतिजामा परिणत गर्ने अवसर पनि हो । क्यानडाले अहिलेसम्म फुटबलबाट नाम चम्काउन सकेको छैन । विशेषतः हकी राष्ट्रका रूपमा चिनिने क्यानडा घरेलु मैदानमा खेल्ने भएकाले यस पटक फुटबलको महाकुम्भमा विशेष गर्न चाहन्छ । यसअघि क्यानडाले दुई पटक सन् १९८६ मा मेक्सिको र सन् २०२२ कतारमा विश्वकप खेलेको थियो तर यी दुवै संस्करणमा क्यानडाको चुनौती समूह चरणमै सकियो । क्यानडाका अमेरिकी प्रशिक्षक जेसे मार्सले आक्रामक, उच्च मनोबलमा र सशक्त भएकाले यसपालि विश्वकपमा आफ्नो टिमले सबैलाई प्रभाावित पार्ने बताउनुभएको छ । उहाँका अनुसार यस विश्वकपमा क्यानडाले खेल्ने फुटबल शैलीले सबैलाई मोहित पार्ने छ ।

विश्वकप खेल्नुअघि क्यानडा आठ खेलमा अपराजित रहेको छ । जसमध्ये क्यानडाले छ खेल क्लिन सिट राखेको थियो । यद्यपि यी खेलमा क्यानडाले नियन्त्रण बनाएपछि अन्तिम लक्ष्य भेद्ने पक्षमा सङघर्षरत् देखिएको थियो तर प्रशिक्षक मार्स भन्नुहुन्छ, “विश्वकपमा क्यानडाले खेल्ने फुटबल शैलीले सबैलाई मोहित पार्ने छ । मेरा खेलाडीहरू उच्च मनोबलमा छन् । क्यानडा विश्वकपका लागि तयार छ ।”

विश्वकपमा क्यानडाले अहिलेसम्म जित भने हात पार्न सकेको छैन । अहिलेसम्म उसले विश्वकपमा खेलेका छ खेलमै पराजय बेहोरेको इतिहास छ । अझ उसले आफ्नो पहिलो खेलमा गोल गर्न सकेको छैन । क्यानडा सन् १९८६ मा फ्रान्स र सन् २०२२ मा बेल्जियमसँग समान १–० ले पहिलो खेलमा पराजित भएको थियो । बेल्जियमविरुद्ध पेनाल्टीमा गोल गर्न नसक्दा पनि क्यानडाको नियति नबदलिएको हो । तर यसपालि परिस्थिति फरक छ । क्यानडाले तिनै खेल गृहमैदानमा खेल्ने मौका पाएको छ । त्यसैले क्यानडाले खेल्दा रङ्गशाला रातो जर्सी लगाएका समर्थकले भरिने छ । जसले क्यानडालाई थप ऊर्जा प्रदान गर्ने छ । यद्यपि क्यानडासमक्ष पहिलो पटक दोस्रो चरणमा पुगेर घरेलु समर्थकलाई खुसी पार्ने ठुलो दबाब पनि रहने छ ।

बायर्न म्युनिखबाट खेल्ने स्ट्राइकर अलफोन्सो डेभिज क्यानडाका सुपरस्टार खेलाडी हुनुहुन्छ । चार वर्षअघि क्रोएसियाविरुद्ध गोल गरेर अलफोन्सो क्यानडाका लागि विश्वकपमा पहिलो गोल गर्ने खेलाडी पनि बन्नुभएको थियो । उहाँले ३९ अन्तर्राष्ट्रिय गोल गरिसक्नुभएको छ । यद्यपि अलफोन्सो पूर्ण रूपमा दुरुस्त नहुँदा बोस्निया हर्जगोभिनाविरुद्ध खेल्नेमा शङ्का नै छ । यसै गरी युभेन्ट्सका फरवार्ड जोनाथन डेभिड र साउथाम्पटनका सिली लारिन पनि टिमका हेर्नलायक खेलाडी हुनुहुन्छ ।

क्यानडाको प्रतिद्वन्द्वी बोस्निया हर्जगोभिना यसपालि ठुलो प्रतिष्ठा बोकेर विश्वकपमा आएको छ । बोस्निया हर्जगोभिना चार पटकको विजेता इटालीलाई प्लेअफमा स्तब्ध बनाएर विश्वकपमा पुगेको टिम हो । विश्वकप छनोट यात्रामा उसले वेल्सलाई पनि पाखा लगाएको थियो ।

फिफा वरीयतामा ६६ औँ स्थानमा रहेको बोस्निया हर्जगोभिना दोस्रो पटक विश्वकप खेल्दै छ । यसअघि सन् २०१४ मा बोस्निया हर्जगोभिनाले विश्वकपमा खेलेको थियो । सो समय बोस्निया हर्जगोभिना समूह चरणबाट बिदा भएको थियो तर त्यसबेला बोस्नियाले अर्जेन्टिनालाई हराएर सनसनी फैलाएको थियो । यस टिममा सामेल स्ट्राइकर इडिन जेकोलाई बोस्नियाकै सर्वकालीन महान् स्ट्राइकर मानिएको छ । यद्यपि उहाँ अहिले घाइते हुनुहुन्छ । जर्मनीको साल्के ०४ बाट व्यावसायिक फुटबल खेल्ने जेकोले १४८ खेलमा ७३ अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ ।

बोस्निया हर्जगोभिनाका प्रशिक्षक सजगेज बारबारेज यस राष्ट्रको नेतृत्व गरिसकेका फुटबलकर्मी हुनुहुन्छ । विश्वकपअघि बोस्निया हर्जगोभिना पनि पछिल्ला आठ खेलमा अपराजित रहेको छ । विशेष रूपमा बोस्निया हर्जगोभिनाको डिफेन्स सशक्त छ । पछिल्ला छ खेलमा उसले एकभन्दा बढी गोल बेहोरेको छैन । बोस्निया हर्जगोभिना पोसेसनबाट खेलमा नियन्त्रणमा लिने भन्दा आफ्नो क्षणको पखाईमा रहने टिम हो । ह्यारिस टाबाकोभिच पनि गोलीगाँठोको चोटमा हुनुहुन्छ छ । उहाँ पूरा समय खेल्ने छाँट छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर