बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका नौ र कोशी प्रदेशका नौ जिल्लामा पहिलो अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएका छन्।
केन्द्रीय निर्वाचन आयोगकाअनुसार काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रविन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुर सभापतिमा सञ्जिव पाठक निर्वाचित हुनुभएको छ ।
बागमती प्रदेशका चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदैछ भने शनिबार सुरु भएको सिन्धुपाल्चोकको अधिवेशन स्थगित भएको आयोगले जनाएको छ । यस्तै कोशी प्रदेशको सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सङ्खुवासभामा भक्तनारायण श्रेष्ठ, ओखलढुङ्गामा कृष्णबहादुर थापा सभापतिमा निर्वाचित हुनुभएको छ । कोशीका धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज अधिवेशन भइरहेको आयोगका प्रमुख केसीले जानकारी दिनुभयो । आज २८ जिल्लामा रास्वपाको अधिवेशन हुन गइरहेको छ ।
यसैबीच, केन्द्रीय निर्वाचन आयोगले जिल्ला अधिवशेनमा प्रतिनिधिको सहभागिताका सम्बन्धमा स्पष्ट पार्दै अधिवेशन सम्पन्न नभएका पालिकाका विभागबाट अधिवेशनमा प्रतिनिधित्व गर्न नपाइने जनाएको छ । आयोगका अनुसार अधिवेशन सम्पन्न भइसकेका पालिकाको हकमा भने वैशाख १५ गते अगावै नियुक्त भएका विभागीय सदस्यले मात्र जिल्ला अधिवेशन प्रतिनिधि हुन पाउनेछन् ।
रास्वपाको पहिलो निर्वाचित महिला जिल्ला सभापति बर्दियाकी शान्ता बुढा
रास्वपाको जिल्लाको मूल नेतृत्वमा निर्वाचित पहिलो महिला सभापतिमा बर्दियाकी शान्ता बुढा क्षेत्री बनेकी छन् । बर्दियाको हिजो भएको अधिवेशनबाट बुढा क्षेत्री फराकिलो मतान्तरले जिल्ला सभापति चुनिएकी हुन् । कार्यवाहक सभापतिको भूमिका रहेकी बुढा क्षेत्रीले सभापति पदमा १५८ मत प्राप्त गरेकी थिइन् । बुढा क्षेत्रीसँग सभापतिमा प्रतिस्पर्धा गरेका अर्का उम्मेदवार उदयबहादुर खत्रीले ४६ मत ल्याए ।
कलैया उपमहानगरपालिका अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका कार्यकर्ताले कलैया उपमहानगरपालिका अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन् । उनीहरूले अधिवेशन सम्पन्न भइसकेपछि विजयी घोषणा गरिएको नेतृत्वलाई मान्यता नदिई पुनः निर्वाचन गराउनु विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको आरोप लगाएका छन् ।
कार्यकर्ताहरूका अनुसार २०८३ साल जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमाशंकर रनिया १२४ मत सहित विजयी भएका थिए । निर्वाचनपछि रनियाको शपथग्रहणसमेत सम्पन्न भएको अवस्थामा दुई दिनपछि सामाजिक सञ्जालको ह्वाट्सएप समूहमार्फत पुनः उपनिर्वाचन हुने सूचना दिइएको थियो ।
