प्रधानमन्त्री बालेनको अभिव्यक्ति : परराष्ट्रको प्रष्टीकरण आधिकारिक : रवि

काठमाडौं ।  सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले दिएको प्रष्टीकरण नै आधिकारिक धारणा भएको बताएका छन् ।

‘परराष्ट्र मामिलासँग सम्बन्धित विषय, परराष्ट्र सम्बन्धका विषय, कुनै देशसँगको सम्बन्धको विषय, परराष्ट्र नीतिजस्ता विषय त्यो पार्टी विशेष हुँदैन । देशको हुन्छ,’ लामिछानेले भने, ‘सरकारका प्रमुख प्रधानमन्त्री भएको हुनाले सरकारले त्यसको बारेमा परराष्ट्र मन्त्रालयले स्पष्टसँग विज्ञप्तिमार्फत जानकारी गराइसकेको छ । त्यो नै सरकारको धारणा हो ।’ यस्ता विषयहरू पार्टीको विशेष नहुने पनि उनको भनाइ थियो ।

कूटनीतिक विषय हो, ढोल बजाएजस्तो गर्न हुँदैन

लामिछानेले कूटनीतिक माध्यमबाट गरिने विषयहरू महत्वपूर्ण हुने भन्दै ठूलो हल्लामा भन्दा पनि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने बताए ।

‘कुनै पनि विषय कूटनीतिको माध्यमबाट, डिप्लोमेटिक च्यानल एक्टिभ गराएर गरिने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । तीनको आवाज हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन,’ उनले भने, ‘ढोल नबजाइ आफ्नो देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ ।’

‘कूटनीतिको विषय देशको सबैभन्दा धेरै जनाले पतयाएको राजनीतिक दलका रुपमा त्यसले उठाउने विषय त्यसका जिम्मेवारी र संवेदनशीलता बुझ्न सकिएन भने कूटनीतिमा त्यसको धेरै महत्व हुँदैन,’ उनले भने ।

‘लोकप्रियताका लागि सजिलो हुन्छ, तर समस्या समाधान गर्न त्यसको चरण हुन्छ ।  कूटनीतिका पनि चरण हुन्छ । त्यसका चरणमा सहि ठाउँमा त्यस्ता कुरा राख्न नेपालले हिजो पनि राख्थ्यो आज पनि राख्छ,’ उनले भने ।

अब तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?

सभापति लामिछानेले आफ्नो पार्टी अस्थिरताको पक्षमा नभएको बताए । पाँच दिने भारत भ्रमण सकेर फर्किएका लामिछानेलाई विमानस्थलमा सञ्चारकर्मीले ‘अब तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भनेर प्रश्न गरेका थिए । लामिछानेले यसबारे जवाफ दिँदै भने, ‘म केही भन्न चाहन्नँ । निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक पढ्न आग्रह गर्न चाहन्छु ।’

‘हामी अस्थिरताको पक्षमा छैनौं । हामी स्थिरताको पक्षमा छौं । नेपाली जनताले स्थिरताका लागि हामीलाई मतदान गरेका हुन् । हामीलाई गरेको वाचाप्रति अडिग छौं । रहिरन्छौं,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर