पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम अवस्थाम सरकार, आयोग र सरोकारवालाको सहयोगमा कुनै हिंसात्मक घटनाबिना निर्वाचन सम्पन्न भएको बताए । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको विद्रोहको भावनाअनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई मुलुकका स्थायित्व कायम हुनुपर्नेमा जोड दिए ।
विपक्षलाई निमिट्यान्न पार्छु भन्नेतिर सरकार नलाग्न सुशीला कार्कीको सुझाव
काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले विपक्षलाई निमिट्यान्न पार्छु भन्नेतिर सरकार लाग्न नहुने बताएकी छन् ।
निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको यहाँ उद्घाटन गर्दै कार्कीले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई निमिट्यान्न गराउनेतिर सरकार लाग्न नहुने बताइन् । “आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तानामुद गराउँछु भन्नेतिर पनि लाग्नु हुँदैन,” कार्कीले भनिन् ।
प्रधानमन्त्री वालेन्द्र साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई विगतलाई हेरेर अघि बढ्न उनले सुझाव दिइन् । कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताइन् । “निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ । जनताले दिएको मतको सम्मान गर्दै उहाँहरुलाई काम गर्न दिनुपर्छ”, पूर्वप्रधानमन्त्री कार्कीले भनिन् ।
