प्रधानमन्त्री बालेन बोल्न तयार भएको यस्तो छ पछाडिको कहानी…..
काठमाडौं । प्रधानमन्त्रीलाई संसद्मा उभ्याएर उनका कुरा सुन्ने विपक्षी दलहरुको माग अबको एक हप्ताभित्रमा पुरा हुने भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विपक्षी दलहरूका सांसदहरूले सधैँ झैँ विरोध गरेपछि सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) एवं सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद्मा प्रधानमन्त्री आउने जानकारी गराएका थिए ।
विपक्षी दलहरूले संसद्को बजेट अधिवेशन सुरु भएको दिन (२८ वैशाख)देखि निरन्तर रूपमा संसद्मा प्रधानमन्त्रीलाई उभ्याएर उनको बोली सुन्न चाहेका छन् । विपक्षी दलका सांसदले निरन्तर प्रश्न उठाएपछि सभामुख अर्यालले प्रधानमन्त्री शाह छिट्टै सदनमा आउने तयारीमा रहेको जानकारी बैठकमा गराएका थिए । सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेपछि सभामुख अर्यालले आफूले गरेको अनौपचारिक संवादका क्रममा प्रधानमन्त्री शाह सदनमा आउने तयारीमा रहेकाले अवरोध नगर्न आग्रह गरे ।
उनले सरकारका तर्फबाट औपचारिक पत्र प्राप्त भएपछि प्रधानमन्त्री शाह आउने मिति समेत तय गर्ने बताए । सभामुख अर्यालले कानुन निर्माणका प्रक्रियामा धेरै काम बाँकी रहेकाले सदनमा अवरोध नगर्न विपक्षी दलका सांसदलाई आग्रह गरे ।
बैठकमा सत्तारुढ दल रास्वपाका मुख्य सचेतक बुर्लाकोटीले एक साताभित्र प्रधानमन्त्री शाह सदनमा आउने जानकारीसहित अवरोध नगर्न अनुरोध गरे । संसद्मा जारी गतिरोधबीच पहिलो बैठक स्थगित भएपछि दलहरूसँग संवाद भएको र त्यस क्रममा आफूले प्रधानमन्त्रीको सचिवालयसँग समेत प्रत्यक्ष कुराकानी गरेको बुर्लाकोटीले संसद्लाई अवगत गराए ।
प्रधानमन्त्री संसद्मा आउने सुनिश्चितता भइसकेकाले विपक्षी दलहरूलाई संसद्को अवरोध हटाई बैठक सहज रूपमा सञ्चालन गर्न सघाउनसमेत उनले आग्रह गरे । ‘ब्रेकको समयमा हामीले केही छलफल गर्यौ । विशेष गरी संसद्मा रहेका सबै दलका प्रमुख सचेतक, सचेतक बसेर छलफल गर्यौ । यो बीचमा मैले प्रधानमन्त्रीज्यूको सचिवालयमा पनि कुराकानी गरेँ । संसद्मा वादविवादभन्दा पनि सैद्धान्तिक छलफलबाटै निकास निकाल्ने पर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी अवगत नै छ । सम्माननीय प्रधानमन्त्रीज्यू संसद्मा आउनुहुन्छ । सम्भव त एक हप्ताभित्रै संसद्मा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु,’ बुर्लाकोटीले भने ।
यसअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरूबिच सदनको कारबाही सुचारु गराउने सहमति भएको थियो । त्यसपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका उपनेता पदमा अर्यालले सभामुखले कार्य व्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार बैठकमा सत्तापक्षको प्रस्तुति नआएको उल्लेख गर्दै सदन सरकारको प्रशंसा गर्ने थलो मात्रै बन्न नसक्ने जिकिर गरिन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद प्रमेश हमालले प्रधानमन्त्री संसद्मा उपस्थित हुने सम्बन्धमा सत्ता पक्षका मुख्य सचेतकले राखेको विषयमा सभामुखबाट रुलिङको माग गरेका थिए । नेकपाका प्रमुख सचेतक युवराज दुलालले संसद्को अवरोध कायमै राख्ने बताए । सत्ताधारी रास्वपाले प्रधानमन्त्री शाहले संसद्मा सम्बोधन गर्ने मिति तोक्ने सहमति भंग गरेको भन्दै दुलालले अवरोध कायमै राख्ने बताएका हुन् । बैठकमा रास्वपाका मुख्य सचेतक बुर्लाकोटीले यही हप्ता प्रधानमन्त्री शाहले संसद्मा सम्बोधन गर्ने बताए पनि उनले मिति भने तोकेका थिएनन् ।
‘प्रमुख सचेतकहरूबीच भएको सहमति रास्वपाले तोड्यो । भित्र भएको सहमति बाहिर आउँदा भत्कियो । रास्वपा उच्च नेतृत्वबाटै संसद्मा प्रधानमन्त्रीको सम्बोधनको मिति’ बारे नबोल्न कविन्द्र बुर्लाकोटीलाई निर्देशन भएछ । संसद् अवरोध जारी रहन्छ,’ दुलालले भने । यसैगरी श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री शाह कलाकार भएका कारण संसद्मा आउन भाउ खोजेको पो हो कि भन्दै कटाक्ष गरे । उनले बरु पैसा तिरौँ तर प्रधानमन्त्रीलाई संसद्मा बोलाऔँ भन्दै कटाक्ष गरे । ‘बालेन कलाकार भएको हुनाले पैसा खोजेर संसद्मा नआएको पो हो कि ? बरु कति पैसा पर्छ तिर्छौँ । तर बालेनलाई बोलाऔँ न संसद्मा,’ राईले भने ।
