राष्ट्रियसभाका अध्यक्षको सरकार विरोधी धारणा !

काठमाडौं ।  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुई तिहाइको सरकार  बन्ने बित्तिकै देशमा राजनीतिक स्थिरता सुनिश्चित नहुने बताएका छन्। सोमबार नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा उनले दुई तिहाइको सरकार बनेकै आधारमा मात्र देशमा राजनीतिक स्थायित्व कायम हुन नसक्ने कुरा व्यक्त गरेका हुन्।

नेपालमा यसअघि पनि दुई तिहाइ र स्पष्ट बहुमत भएका सरकारहरू बने पनि तिनले पूरा कार्यकाल टिकाउन नसकेको इतिहास स्मरण गराउँदै अध्यक्ष दाहालले राजनीतिक स्थायित्वका लागि सङ्ख्याभन्दा पनि दीर्घकालीन योजना महत्वपूर्ण हुने दाबी गरे। सरकारको सफलता स्पष्ट योजना, जनताको आवश्यकता पहिचान र तत्कालीन समस्याको समाधानमा निर्भर रहने उनको भनाइ थियो।

अध्यक्ष दाहालले वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यलाई प्राथमिकतामा राख्नुपर्ने जोड दिए। यद्यपि, सरकारले सञ्चार क्षेत्रलाई सङ्कुचित गर्न थालेको प्रति उनले असन्तुष्टि व्यक्त गरे। सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई बन्देज लगाउनु उचित नभएको बताउँदै उनले लोकतन्त्रलाई बलियो बनाउन स्वतन्तर पत्रकारिताको भूमिका अहम् रहने उल्लेख गरे।

सञ्चारमाथि नियन्त्रण वा सङ्कुचन गरिएमा लोकतान्त्रिक अभ्यास कमजोर हुने धारणा राख्दै उनले सञ्चार क्षेत्र पनि विधि, प्रक्रिया र संवैधानिक मर्यादाभित्र सञ्चालन हुनुपर्ने बताए। राष्ट्रिय सभामा सञ्चारसम्बन्धी विधेयक अगाडि बढाउनुअघि सरोकारवालाहरूसँग आवश्यक छलफल गरिने र पत्रकारका समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता समेत उनले जनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर