मुम्बईलाई हराउँदै राजस्थान प्लेअफमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ।

वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रनको बलियो योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बईको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो। यस जितसँगै आईपीएल २०२६ को शीर्ष चार (टप-४) टोलीहरूको टुङ्गो लागेको छ। यस सिजन रोयल च्यालेन्जर्स बैंगलुरू, गुजरात टाइटन्स, सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सले प्लेअफमा स्थान बनाएका छन्।

आगामी मे २६ मा हुने क्वालिफायर-१ मा बैंगलुरू र गुजरातबिच प्रतिस्पर्धा हुनेछ भने मे २७ मा हुने एलिमिनेटर खेलमा हैदरावाद र राजस्थान भिड्ने छन्। २०६ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईको सुरुवात अत्यन्तै खराब रह्यो। प्रारम्भिक ब्याटर रोहित शर्मा खाता नै नखोली आउट भए भने पावरप्लेभित्रै मुम्बईले आफ्नो ४ विकेट गुमाइसकेको थियो।

त्यसपछि सूर्यकुमार यादवले ६० रन र हार्दिक पाण्ड्याले ३४ रन बनाउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि लगातार रूपमा विकेट झरेका कारण मुम्बई लक्ष्यभन्दा टाढिन पुग्यो।  राजस्थानका तर्फबाट घातक बलिङ गर्दै जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए। त्यस्तै नांद्रे बर्गर, ब्रिजेश शर्मा र यश पुञ्जाले समान २-२ विकेट चट्काए।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानका लागि ध्रुव जुरेलले ३८ रन, जोफ्रा आर्चरले १५ बलमा ३२ रन र दासुन शनाकाले २९ रनको योगदान दिएका थिए। खेलको अन्तिम समयमा रवीन्द्र जडेजा र नांद्रे बर्गरले तीव्र गतिमा रन जोड्दै टोलीको स्कोर २०० रनको पार पुर्‍याएका थिए। मुम्बईका तर्फबाट बलिङ गर्दै दीपक चाहर र शार्दूल ठाकुरले २-२ विकेट लिए भने विल ज्याक्स, अल्लाह गजनफर र कर्बिन बशले १-१ सफलता हात पारे।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर